काठमाडौ ९ असार । अमेरिकाले इरानलाई हर्मुजको जलडमरु स्ट्रेट अफ होर्मुज बन्द गर्नबाट रोक्न चीनसँग गुहार मागेको छ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले आइतबार फक्स न्युजलाई अन्तर्वार्ता दिने क्रममा इरानलाई फोन गरेर हर्मुजको जलडमरु बन्द नगर्न भन्न चीनसित अनुरोध गरेका हुन्।
हालै इरानको सरकारी च्यानल प्रेस टीभीले इरानको संसद्ले विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ बन्द गर्ने योजनालाई अनुमोदन गरेको रिपोर्ट गरेको थियो। यद्यपि अन्तिम निर्णय अझै पनि सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को हातमा छ।
यसैबीच इरानका आणविक स्थलमा आक्रमण गरेको अमेरिका ‘स्ट्रेट अफ होर्मुज’ बन्द हुने चिन्तामा परेको हो।
आइतबार फक्स न्युजलाई दिएको अन्तर्वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘म चीन सरकारलाई भन्न चाहन्छु(यसबारे इरानसँग फोनमा कुरा गर। किनभने चीन पनि आफ्नो तेलका लागि हर्मुजको जलडमरुमा धेरै हदसम्म निर्भर छ।’
उनले अगाडि भनेका छन्, ‘यदि इरानले जलडमरु बन्द गर्यो भने यो उनीहरूका लागि आर्थिक आत्महत्याजस्तै हुनेछ। हामीसँग यसको सामना गर्ने विकल्प छन्। तर अन्य देशले पनि यसमा ध्यान दिनुपर्छ, किनकि यसले हामीभन्दा उनीहरूको आर्थिक अवस्थालाई बढी असर गर्नेछ।’
हर्मुजको जलडमरु विश्वभर ग्यास र तेलको आपूर्तिका लागि रणनीतिक रूपमा धेरै महत्त्वपूर्ण मार्ग मानिन्छ।
यसले मध्यपूर्वको तेल भण्डारवाला देशलाई एसिया, युरोप र उत्तरी अमेरिकालगायत विश्वका अन्य भागसँग जोड्छ।








प्रतिक्रिया दिनुहोस्