काठमाडौं, १३ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग आफु कहिल्यै पार्टी ध्रुवीकरणमा नजाने बताएका छन् ।
उनले माओवादी केन्द्रले एमालेसँग गर्न लागेको एकता आत्महत्या गरे सरह भएको संज्ञा दिँदै आफु कहिल्यै ध्रुवीकरणमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
नेपालगन्जमा आयोजित प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टराईले वाम गठबन्धनलाई पानीको संज्ञा दिँदै पानीमा नमिसिने बताए ।
उनले आफुहरु दूध भएको दाबी गर्दै भने, ‘हामी दुध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन।अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ। तर, पानीमा मिसिन जान सकिँदैन।’
उनले एमाले र माओवादी केन्द्रबीचको एकता आत्महत्या भएको टिप्पणी गरे । एमालेसँग एकता गर्न खोजेर प्रचण्डले आत्महत्या गर्न लागेको भन्दै आत्महत्या गर्न आफुलाई नबोलाउन प्रचण्डलाई आग्रह गरे । केही दिन अघि प्रचण्डले बाबुरामलाई सबै हठ छोडेर पार्टी एकतामा सहभागी हुन आग्रह गरेका थिए ।
भट्टराईले विगतमा समाजवादी केन्द्रको स्थापना गर्ने उद्देश्यका साथ वामपन्थी गठबन्धनमा सामेल हुने निर्णय गरेको तर एमाले र माओवादी केन्द्र त्यो उद्देश्यबाट विचलित भएकाले गठबन्धन छाडेर बाहिर आउनुपरेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्