काठमाडौ १९ जेठ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा एक वर्षको अवधिमा २६ अर्व संकलन भएको छ । गत आवको जेठ महिनासम्म ५५ अर्ब ३ करोड योगदान रकम संकलन भएकोमा चालु आवको हालसम्म ८१ अर्ब १९ करोड रुपैयाँ संकलन भएको सामाजिक सुरक्षा कोषले जनाएको हो ।
योजनामा योगदानकर्ता वृद्धि भएसँगै कोषमा वार्षिक रूपमा २६ अर्ब १६ करोड संकलन हुन थालेको छ । हाल योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ८१ अर्ब १९ करोड योगदान रकम संकलन हुँदा १२।०३ अर्थात् १४ अर्ब ८२ करोड रुपैयाँबराबरको सामाजिक सुरक्षा रकम लाभग्राहीलाई भुक्तनी गरिएको छ । यो श्रमिकबाट संकलन भएको जम्मा रकमको १२ प्रतिशत हो ।
२०७५ मंसिरबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक तथा अन्य क्षेत्रमा कार्यरत श्रमिक तथा कर्मचारीले हालसम्म ८१ अर्ब १९ करोड रुपैयाँ योगदान रकम जम्मा गरिसकेका छन् । हालसम्म जम्मा भएको योगदान रकममध्ये विभिन्न ४ योजनाअन्र्तगत लाभग्राही श्रमिक र उनीहरूका परिवारले १४ अर्ब ८२ करोड रुपैयाँ सामाजिक सुरक्षा रकम प्राप्त गरिसकेको कोषका प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए ।
कोषले लाभग्राहीलाई गरेको भुक्तानी जम्मा भएको रकमको लगभग १२ प्रतिशत हो । सेवाग्राहीलाई भुक्तानी गरेको १४ अर्ब ८२ करोडमध्ये अवकाश दाबीमा १२ अर्ब ४१ करोड ८८ लाख रुपैयाँ वितरण भएको छ । यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम १ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ वितरण गरिसकेको कोषले जनाएको छ ।
आश्रित परिवार सुरक्षा दाबीबापत २४ करोड १२ लाख र दुर्घटना तथा अशक्तता सुरक्षाअन्र्तगत १९ करोड ३३ लाख रुपैयाँ भुक्तनी भएको कोषले जनाएको छ । कोषमा हालसम्म १८ हजार ८६० रोजगारदाता प्रतिष्ठान सूचीकृत भइसकेका छन् भने सूचीकृत हुने श्रमिकको संख्या १२ लाख ९१ हजार १४७ रहेका छन् । तत्काल औपचारिक रोजगारीको क्षेत्रबाट अनिवार्य गरिएको सामाजिक सुरक्षा कार्यक्रममा हाल निजी संगठित क्षेत्रका २० हजार ६३७ रोजगारदातासँग आवद्ध २२ लाख ७० हजार २३७ श्रमिकहरू सूचीकृत भई योगदान गरिरहेको कोषले जनाएको छ ।
यसमध्ये वैदेशिक रोजगारीका क्षेत्रमा गएका १६ लाख ८० हजार ५७०, अनौपचापरक ४९५ तथा स्वरोजगार ३६९ रहेका छन् । कोषमा आबद्ध हुन रोजगारदाता सूचीकृत भई आफ्ना श्रमिक तथा कर्मचारीहरूको समेत सम्पूर्ण विवरणसहित सूचीकरण गराउनु पर्ने नियम रहेको छ । सूचीकरण भएका हरेक रोजगारदाता र योगदानकर्तालाई कोषले सामाजिक सुरक्षा नम्बर प्रदान गर्ने र सोही नम्बरमा जम्मा हुने गरी हरेक महिना समाप्त भएको १५ दिनभित्र रोजगारदाताको तर्फबाट आधारभूत पारिश्रमिकको २० र योगदानकर्ताको तर्फबाट ११ प्रतिशत रकम कट्टा गरी कोषमा अनलाइन भुक्तानी प्रणालीमार्फत रकम जम्मा गनु पर्ने नियम रहेको छ ।
यसैगरी कोषले सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने श्रमिक तथा कर्मचारीले घर, शैक्षिक, सामाजिक कार्य र विशेष सापटी गरी ४ वटा सुविधा दिँदै आएको छ । सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकका लागि योगदानकर्ता सापटी निर्देशिका जारी गरेपछि सापटी योजना सुरु भएको हो । कोषले सापटी योजनाअन्र्तगत घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र विशेष सापटी योजना गत भदौ १ गतेबाट सुरु गरेको हो । यी ४ वटा सापटी योजनाअन्र्तगत विशेष सापटी सेवा लिनेको संख्या बढी रहेको कोषले जनाएको छ ।
योगदानकर्ता सापटी निर्देशिका अनुसार प्रक्रिया सरल मानिएको विशेष सापटी योजनामा कोषमा जम्मा भएको रकम ८० प्रतिशत लिन पाइने छ । योगदानकर्ता विशेष सापटी लिन कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई निजको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम असी प्रतिशत रकमसम्म प्रदान गर्न सकिने प्रावधान रहेको छ ।








प्रतिक्रिया दिनुहोस्