काठमाडौं १५ जेठ । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बजेट विगतको एउटा निरन्तरताका रुपमा मात्र सीमित रहेको टिप्पणी गरेका छन्।
‘निरन्तरको प्रक्रियाभन्दा कुनै गुणात्मक परिवर्तन छैन,’ बिहीबार संसद्मा बजेट पेस भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘निजी क्षेत्रका माग केही हदसम्म सम्बोधन भएको भन्ने आएको छ। त्यो सकारात्मक छ। स्रोतका हिसावले भन्ने हो भने राजस्वको आम्दानी र खर्चको अवस्था हेर्दा दयनीय अवस्था छ।’
निरन्तरतामा अहिलेको अर्थ व्यवस्था चल्न नसक्ने जनाउँदै पूर्वअर्थमन्त्री शर्माले त्यसका लागि अर्थतन्त्रको ‘मोडालिटी’ नै बदलेर उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए।
‘अहिले त्यसमा जोड दिएको छैन, शर्माले भने, ‘भन्सार र विप्रेषणमा होइन, आफ्नो उत्पादनमा निर्भर भएर देश चल्ने अवस्था नगर्दासम्म विकासले गुणात्मक फड्को मार्न सक्दैन।’
जनजीविकाका सवाललाई प्रस्तुत बजेटले सम्बोधन नगरेको उल्लेख गर्दै उनले स्वास्थ्य, शिक्षा, रोजगारी यस बजेटमा ठोस् रुपमा नसमेटिएको प्रतिक्रिया दिए।







प्रतिक्रिया दिनुहोस्