काठमाडौं ३० बैशाख । चिनियाँ राष्ट्रपति शी जिनपिङले मंगलबार बेइजिङमा आयोजित ल्याटिन अमेरिकी नेताहरूको भेलालाई सम्बोधन गर्दै व्यापार सम्बन्धलाई कच्चा पदार्थको खरिदभन्दा बाहिर विस्तार गर्ने प्रस्ताव राखेका छन्। उनले स्वच्छ ऊर्जा, दूरसञ्चार, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उदीयमान क्षेत्रहरूमा सहकार्य विस्तार गर्न चाहेको बताए। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिहरूको सामना गर्न राष्ट्रहरूलाई एकजुट गर्ने उनको प्रयासको हिस्सा हो।
चीनले लामो समयदेखि ल्याटिन अमेरिकाबाट तेल, फलाम जन्य पदार्थ, सोयाबिन, र अन्य वस्तुहरू आपूर्ति गर्दै आएको छ । ती बस्तु निर्यात धेरै ल्याटिन अमेरिकी देशहरूको आर्थिक वृद्धिको आधार बनेको छ।
चीन र अमेरिकाले एकअर्काविरुद्ध लगाएका दण्डात्मक भन्सार दरहरूमा अस्थायी कटौतीको घोषणा गरेको भोलिपल्ट बोल्दै, शीले ल्याटिन अमेरिका र क्यारिबियन देशहरुको समुदाय (सीईएलएसी) का प्रतिनिधिहरूलाई सम्बोधन गरेका हुन् । उनले ट्रम्पको नाम उल्लेख नगरे पनि, अस्थिर विश्वमा चीन ल्याटिन अमेरिकाको सबैभन्दा भरपर्दो साझेदार भएको दाबी गरे। यो विषय उनले हालै दक्षिणपूर्वी एसियाली देशहरूको भ्रमण र अन्य कूटनीतिक भेटघाटमा पनि उठाइरहेका छन् ।
‘चीनले ल्याटिन अमेरिका र क्यारिबियन देशहरूबाट उच्च गुणस्तरका उत्पादनहरूको आयात बढाउनेछ र आफ्ना उद्यमहरूलाई त्यस क्षेत्रमा लगानी विस्तार गर्न प्रोत्साहन गर्नेछ,’ शीले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक सहितका नेताहरुलाई आश्वस्त पारेका छन् । ‘एकपक्षीयता र संरक्षणवादको बढ्दो लहरको सामना गर्दै, चीन सहयोग गर्न तयार छ,’ सीले थपे।
अन्य नेताहरूले पनि ट्रम्प प्रशासनको भन्सार धम्की र अन्य दबाबहरूको अप्रत्यक्ष उल्लेख गरेका थिए। ूहामी यहाँ बहुपक्षीयता र संवादको पुनस्पुष्टि गर्न आएका छौं, एकपक्षीय थोपराइ होइन, मानवजातिले सामना गरिरहेका चुनौतीहरू समाधान गर्ने बाटो हो,ू चिलीका राष्ट्रपति बोरिकले बैठकमा व्यक्त गरेको भन्दै न्यूयोर्क टाइम्सले समाचार बनाएको छ ।
शीको भाषणमा विस्तृत विवरण कम थियो, तर उनले चीनको सांस्कृतिक सम्पदाप्रति आफ्नो रुचि देखाउँदै चीन र ल्याटिन अमेरिकाका प्राचीन सभ्यताहरूको ‘सहकार्यपूर्ण अध्ययन’ को प्रस्ताव राखेका छन् ।
सोही बैठकमा, लुलाले चिनियाँ माग र लगानीले ब्राजिलको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए। तर, उनले ब्राजिलले प्रविधिको क्षेत्रमा पनि प्रगति गर्न चाहेको सङ्केत गरे। ‘डिजिटल क्रान्तिलाई राष्ट्रहरू बीच नयाँ प्राविधिक विभाजन सिर्जना गर्न दिनु हुँदैन,’ लुलाले जोड दिएका थिए। ूकृत्रिम बुद्धिमत्ताको विकास केहीको विशेषाधिकार हुनु हुँदैन। कम कार्बन अर्थतन्त्रमा न्यायपूर्ण सङ्क्रमणका लागि स्वच्छ ऊर्जा प्रविधिमा व्यापक पहुँच आवश्यक छ।ू
सोमबार बेइजिङमा, लुलाले चिनियाँ लगानीकर्ताहरूलाई ब्राजिलमा आकर्षित गर्न केही सफलता हासिल गरेको दाबी गरेका छन् । उनको कार्यालयका अनुसार, चिनियाँ कम्पनीहरूले अटोमोटिभ उत्पादन विस्तार र वायु तथा सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगभग ४.७ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरे। उनले ब्राजिल–चीन साझेदारीको प्रस्तावलाई पनि स्वागत गरेका छन् । त्यस्तो लगानीको प्रयासले दुर्गम क्षेत्रका ब्राजिलियनहरूलाई इन्टरनेटमा जोड्न कम कक्ष (लो–अर्बिट) स्याटेलाइटहरू प्रक्षेपण गर्ने लक्ष्य राख्छ। यो प्रस्ताव इलन मस्कको स्टारलिङ्कको सम्भावित प्रतिस्पर्धी हुन सक्छ। चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेको ब्राजिलमा पहिलेदेखि नै ठूलो प्रभाव रहेको छ ।
वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीजको अमेरिकास् प्रोग्रामका निर्देशक रायन बर्गका अनुसार, ‘चिनियाँ अधिकारीहरू ट्रम्प प्रशासनले ल्याटिन अमेरिकामा देखाएको आक्रामकताबाट केही आश्चर्यचकित भएका छन्।’ अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पद सम्हालेपछि कम्तीमा आठ ल्याटिन अमेरिकी र क्यारिबियन देशहरूको भ्रमण गरिसकेका छन् र यो क्षेत्र उनको प्राथमिकतामा रहेको बताएका छन्, विशेष गरी चिनियाँ प्रभावलाई प्रतिकार गर्न भन्दै वाशिंगटन पोष्टले विश्लेषण गरेको छ।
‘चीनले ल्याटिन अमेरिका र क्यारिबियन देशहरूको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्न र बाह्य हस्तक्षेपको विरोध गर्न समर्थन गर्छ,’ शीले भनेका छन् । ‘१९६० को दशकमा, पनामाका जनताले पनामा नहरमाथि आफ्नो सार्वभौमिकता पुनःप्राप्त गर्न समर्थन गर्न चीनभरि ठूलाठूला र्यालीहरू भएका थिए।’ तर अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरुवात गर्दै पानामा नहरमा चिनिया हस्तक्षेप रहेको भन्दै कव्जा गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्