काठमाडौं १२ बैशाख । माओवादी उपमहासचिव वर्षमान पुनले गठन भएको १० महिनासम्म सरकारले बिचौलियाको संरक्षण र प्रतिपक्षी दलहरूसँग प्रतिशोध साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । धितोपत्र बोर्ड, बिमा प्राधिकरणजस्ता नियामक निकायहरूमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको उनको भनाइ छ।
उनले सरकार बिचौलियाको हितमा काम गरिरहेको छ भनेर आफूहरूले भनेपछि ‘सरकारबाट हट्दाको छटपटी’ भन्दै आरोप लागिरहेकोप्रति आक्रोश व्यक्त गरे । उनले प्रतिपक्षी मात्र होइन, आम नेपाली नागरिकले समेत वर्तमान सरकारलाई ‘दलाल, बिचौलिया र स्वार्थ समूहको सरकार’ भन्दै आएको उल्लेख गरे ।
उनले भने, ‘१० महिनासम्म सरकारले दलाल र बिचौलियाहरूको संरक्षण र प्रतिपक्षी दल तथा नेतासँग प्रतिशोध साँध्नेबाहेक केही गरेको छैन। धितोपत्र बोर्ड, बिमा प्राधिकरणजस्ता नियामक निकायहरूमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्ना प्रतिनिधिलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग छ। हामीले यो सरकार बिचौलियाको हितमा काम गरिरहेको छ भनेपछि सरकारबाट हट्दाको छटपटी भनियो। आज हामी मात्र होइन, घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर यो सरकार दलाल, बिचौलिया र स्वार्थ समूहको हो भनेर भनिँदैछ।’
उनले सरकार गठन भएको १० महिनासम्म पनि प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगरिनु दुःखद भएको भन्दै ‘किन गाह्रो भएको हो सरकाररु’ भन्दै प्रश्नसमेत गरे ।







प्रतिक्रिया दिनुहोस्