काठमाडौं ३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसिया मामिला हेर्नेगरी सहायक विदेशमन्त्रीमा पल कपुरलाई मनोनीत गरेका छन्। उनी दक्षिण एसियाको सुरक्षा मामिला विज्ञ हुन्।
सिनेटले उनको अनुमोदन गरे कपुरले यसअघिका सहायक विदेशमन्त्री डोनाल्ड लुको स्थान लिने छन्। लुको कार्यकाल १७ जनवरीमा समाप्त भइसकेको छ।
अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ साउथ एन्ड सेन्ट्रल एसियन अफेयर्सले अफगानिस्तान, बंगलादेश, भुटान, भारत, कजाकस्तान, किर्गिजस्तान, मालदिभ्स, नेपाल, पाकिस्तान, श्रीलंका, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानसँगको विदेश सम्बन्ध हेर्छ।
भारतीय मूलका कपुर युनाइटेड स्टेट्स नेवल पोस्टग्य्राजुएट स्कुलस्थित डिपार्टमेन्ट अफ नेसनल सेक्युरिटी अफेयर्सका प्राध्यापक हुन्।
२०२० देखि नै उनले विदेश मन्त्रालयमा काम गर्दै आएका छन्। उनले युनिभर्सिटी अफ सिकागोबाट पीएचडी गरेका छन्। एजेन्सी








प्रतिक्रिया दिनुहोस्