काठमाडौं, २७ फागुन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कतिजना प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै सांसदहरुसमक्ष प्रश्न गरेका छन्।
नेपालमा शान्ति प्रक्रियामा आएपछिका १० वर्षमा १० प्रधानमन्त्री बनेको र आठ जनालाई आफैंले प्रस्ताव गरेको स्मरण गर्दै दाहालले यस्तो प्रश्न गरे।
‘प्रधानमन्त्रीको कार्यकक्षमा बसेर यसो हिसाव गरेको पछिल्ला १० मध्ये ८ प्रधानमन्त्री बनाउने अवसर मलाई प्राप्त भएछ’ पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले भने, अब कति प्रधानमन्त्री बनाइयो भने गिनिज बुकमा नाम लेखिन्छ होला ?’
यद्यपि यो पटक एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउँदा फरक अनुभूति भएको उनले सुनाए । यो चानचुने कुरा नभएको भन्दै उनले अहिलेको व्यवस्थालाई परम्परतागत संसदीय व्यवस्थाका रुपमा मात्र नबुझ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदै प्रचण्डले आफूलाई यसमा खुसी र गर्व दुवै भएको बताएका छन्। दाहालले भने, ‘यो पटक मलाई नयाँ अनुभूति भएको छ। संविधान घोषणा गरेर। तीन तहको निर्वाचन गरिसकेपछि देशमा राजनीतिक स्थायित्वको कसम खाएर प्रधानमन्त्रीलाई विश्वासको मत दिने पहिलो हस्ताक्षरकर्ता भएकोमा गर्वानुभूति छ।’
प्रतिक्रिया दिनुहोस्