काठमाडौं, २७ फागुन । वाम गठबन्धनका प्रमुख नेताले प्रधानमन्त्री निर्वाचनमा केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्।
पार्टी एकताको औपचारिक तयारीमा रहेका दुवै दलले प्रधानमन्त्रीले विश्वासको मत लिनु अगाडि दुवै दलको संसदीय दलको संयुक्त बैठक बोलाएका थिए।
प्रधानमन्त्री ओलीले संसद् बैठकमा कोही पनि छुट्न नहुने बताउँदै पार्टीका उम्मेदवारको पक्षमा मत दिन सांसदहरुलाई निर्देशन दिए।
समान्यतया संसदीय दलका प्रमुख सचेतकले ह्वीप जारी गर्ने भएपनि दुवै दलबाट प्रमुख सचेतकको मनोनयन नभएका कारण दुवै अध्यक्षले ह्वीप जारी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आइतबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिदैछन्। नेपालको संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वासको मत ३५ दिन भित्र लिनुपर्ने प्रावधान छ। प्रधानमन्त्री नियुक्त भएको २५ दिनमा ओलीले आइतबार संसद्मा विश्वासको मत लिन लागेका हुन् ।
ओली फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।
सत्ता गठबन्धनमा रहेका प्रमुख दल एमाले र माओवादी केन्द्रका अतिरिक्त संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) र राप्रपाले प्रधानमन्त्री ओलीले विश्वासको मतका पक्षमा भोट दिने निर्णय गरेका छन् । यससँगै सरकारले तीन चौथाइभन्दा बढीको समर्थन पाउने निश्चित भएको छ।
प्रतिक्रिया दिनुहोस्