काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । एक्लैको स्पष्ट बहुमत नरहेको र दुई वा दुई भन्दा बढी पार्टीको समर्थनमा निर्वाचित हुने प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासका मत लिनुपर्ने व्यवस्था छ । विश्वासको मत लिन अघि पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।
बैठक मध्याह्न १२ः३० बजे बस्नेछ । संसदीय दलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । पार्टी एकता गर्ने घोषणा गरेका दुवै दलले संयुक्त संसदीय दलको बैठक अभ्यास गर्दै आएका छन् ।
संयुक्त बैठकपछि प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मतदानमा आफ्ना सबै सांसदलाई सरकारको पक्षमा मतदान गर्न बैठकले आग्रह गर्ने जनाइएको छ । विश्वासको मतदानमा मधेश केन्द्रित दल पनि प्रधानमन्त्री ओलीको पक्षमा उभिने विश्वास गरिएको छ । त्यसका लागि राजपाले प्रधानमन्त्री ओलीको पक्षमा सहयोग गर्ने बताएको छ । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गरेको छैन ।
आज १२ः०० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जनाएको छ । वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाइ समर्थन देखिएको छ । ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको हो ।
दुईतिहाईका लागि १ सय ८२ मत आवश्यक पर्छ । तर, संसदमा प्रतिनिधित्व गर्ने दलहरूको अहिलेसम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाइभन्दा १२ मत बढी देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्