
काठमाडौँ, १६ फागुन । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ ।
नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको मंगलबार उद्घाटन गर्दै उहाँले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताउनुभयो । ‘भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन,’ उहाँले भन्नुभयो ।
गृहमन्त्री थापाले विदेशिएका युवालाई स्वदेशमा रोजगार प्रदान गर्नका लागि आर्थिक विकास र समृद्धि आवश्यक रहेको भन्दै दिगो शान्ति र आर्थिक विकासका लागि वर्तमान सरकार लाग्ने बताउनुभयो ।
मगर समुदायबाट गृहमन्त्री बन्नुभएका थापाले मुलुक निर्माणका लागि मगर समुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यबाट मगर समुदायले सोचेजस्तो अधिकार पाउन नसकेको उल्लेख गर्नुभयो । “राज्यको नेतृत्व तहमा मगर समुदायले केही अधिकार पाए पनि अरू स्थानमा अधिकार कम छ,” उहाँले भन्नुभयो ।
उहाँले मगर समुदायको अधिकार, विकास र समृद्धिका लागि सशक्त नेतृत्व चयन गर्न सुझाव दिनुभयो ।
नेपाल मगर संघका सल्लाहकार बमकुमारी बुढामगरले खस आर्यपछिको ठूलो समुदायका रुपमा रहेको आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको बताउनुभयो । “१० वर्षे जनयुद्धको सुुरुवात मगर बस्तीबाट भएको हो, त्यसैले मगर समुदायलाई वर्तमान सरकारले बेवास्ता गर्न मिल्दैन,” उहाँले भन्नुभयो ।
नेपाल मगर संघका अध्यक्ष नवीन रोकामगरले झण्डै १९ लाख जनसंख्या भएको मगर समुदायको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा सरकारले मान्यता दिनुपर्ने माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्