काठमाडौं, ११ फागुन । एक दिवसीय विश्वकप छनौटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरेका छन्।
कार्यक्रममा खेलाडी तथा अफिसियललाई यसअघि सरकारले घोषणा गरेको जनही ३ लाख रुपैयाँ प्रदान गरिएको थियो। यस्तै, मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको जनही १ लाख रुपैयाँ पनि सोही कार्यक्रममा प्रदान गरियो।
क्रिकेट टिमको सम्मान भने निर्धारित समयभन्दा १ घन्टा ४५ मिनेट ढिलो सुरु भएको थियो। आइसिसी विश्वकप छनोट प्रतियोगिताको तयारी गरिरहेको नेपाली टिमलाई सम्मानका लागि दिउँसो ३ बजे बोलाइएको थियो। खेलाडी ठिक ३ बजे नै बलुवाटार पुगेका थिए।
तर, प्रधानमन्त्रीको शुक्रबार ६७ औं जन्मदिन परेकाले सम्मान कार्यक्रम निर्धारित समयभन्दा ढिलो सुरु भएको थियो । शुभकामना दिन प्रधानमन्त्री निवासमा बिहान सबेरैदेखि शुभेच्छुकको भीड लागेको थियो। अन्ततः प्रधानमन्त्री ओली पौने ५ बजेपछि मात्र कार्यक्रमस्थलमा प्रवेश गरेका थिए ।
यसैसंगै, विश्वकप छनोट खेल्न शनिबार जिम्बावे प्रस्थान गर्ने नेपाली टिमलाई शुक्रबार बिदाइ पनि गरिएको छ। बिदाइ कार्यक्रमपछि प्रधानमन्त्री ओलीले नेपाली खेलाडीलाई आत्मविश्वासका साथ मैदान उत्रन शुभकामना दिए।
फागुन २० देखि जिम्बावेमा सुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ। छनोटमा नेपालले पहिलो खेल आयोजक जिम्वाबेसँग खेल्नेछ। समूहमा नेपाल र आयोजक जिम्बावेसँगै स्कटल्यान्ड, अफगानिस्तान र हङकङ छन्।






प्रतिक्रिया दिनुहोस्