काठमाडौं, १० फागुन । पार्टी एकता सम्वन्धी बनेको संयुक्त कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । एमाले र माओवादी बीच पार्टी एकता घोषणा भएपछि पहिलो पटक कार्यदलको बैठक बसेको हो ।
बैठकमा नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको गृहकार्य गर्न गठित दुई कार्यदललाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । दुबै कार्यदलको संयुक्त बैठकलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरेका थिए ।
कार्यदलमा शीर्ष नेताहरु भएकाले पनि सबैलाई मान्य हुने प्रतिवेदन आउन विश्वास व्यक्त दुबै नेताले गरेका छन् । एमाले माओवादी नेताहरुले फागुन ७ गते पार्टी एकताको सातबुँदे आधारमा हस्ताक्षर गरेका थिए । साथै पार्टीको संगठन र अन्तरिम विधान बनाउन दुई कार्यदल बनाएको थियो ।
संगठन निर्माणसम्बन्धी कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, बेदुराम भुषाल र रघुवीर महासेठ छन् भने माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा र मातृका यादव छन् ।
पार्टीको अन्तरिम विधान बनाउन गठित कार्यदलमा एमालेबाट माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल छन् । दुबै कार्यदलले प्रतिवेदन बुझाएपछि थप गृहकार्य गरेर पार्टी एकता घोषणा गरिने नेताहरुले बताएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको घोषणा गर्न चैत सम्म पर्खनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्