काठमाडौँ ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यो कार्यकालको १४ महिना १९ दिनमै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यस प्रयोजनका लागि बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
फागुन २१ गते एमालेसँग मिलेर नयाँ सत्ता समीकरण बनाएका प्रचण्डलाई एमालेसहित माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरे पनि पार्टीभित्र विवाद कायमै छ ।
त्यतिबेला विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले संसदमा उपस्थित कुल संख्याको ९९.२५ प्रतिशत मत पाएका थिए ।
तर तीन महिना नपुग्दै राष्ट्रपतिको निर्वाचन पूर्व गत वर्ष फागुन १२ गते एमालेसँग सहकार्य तोडेका प्रचण्ड पुरानै गठबन्धनमा फर्किए ।
एमाले र राप्रपा सत्ताबाट बाहिरिएपछि उनले गत चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए । उपस्थित संख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । दोस्रो पटक प्रधानमन्त्री प्रचण्डले ६४.१८ प्रतिशत मत पाए ।
त्यतिबेला उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्