ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सबैभन्दा गजब कूटनीतिक अभ्यास : रात्रीभोज(डिनर टेबल)


एलेक्स प्रुडहोम

एकअर्कालाई आमनेसामने बनाउने भएकैले आजको एक्लो र कृत्रिम विश्वमा ‘पाक कूटनीति’ प्रभावकारी बनिरहेको छ। यसलाई बेवास्ता गर्नुभन्दा स्विकार्नु उपयुक्त हुन्छ।

शताब्दीयौंदेखि मानिसहरू अन्नकै कारण जोडिने र राजनीतिक उद्देश्यका लागि खानाको प्रयोग गर्ने गरेका छन्। यसका केही विशेष कारण छन्। विगतमा डाइनिङ टेबललाई तटस्थ स्थानका रूपमा लिइन्थ्यो। हातहतियार एकातिर थन्क्याएर मानिसहरू खान बस्थे। खुलेर कुरा गर्थे। सहमतिमा निर्माण हुन्थ्यो। सम्झौताहरू तयार हुन्थे।

इजिप्टका फराहोहरू, ग्रीक र रोमन नेताहरू, चिनियाँ सम्राट्हरू र रूसी जारहरूले आफ्नो पहुँच बढाउन खानाकै माध्यम प्रयोग गर्थे। फ्रान्सका राजा लुई १४औंबाट प्रेरित भएर ज्याकी केनेडी (अमेरिकाका पूर्व राष्ट्रपति जोन एफ. केनेडीकी पत्नी)ले भोजहरू आयोजना गर्थिन्। त्यस्तै, थोमस जेफरसन, फ्र्यांकलिन रुजभेल्ट, आइजनआवर र बाराक ओबामा जस्ता खानाप्रेमी अमेरिकी राष्ट्रपतिहरू राजनीतिक सम्पर्क निर्माण गर्न, सूचना जम्मा गर्न र आफ्ना अजेन्डाहरू प्रवर्द्धन गर्न डिनरको उपयोग गर्थे।

नयाँ करार बाइबलमा लेखिएकै छ, टुक्रिएका रोटीहरू एकै ठाउँमा ल्याएपछि सहमति जुटाउन खासै गाह्रो हुँदैन। त्यस्तै, अमेरिकाका प्रसिद्ध एन्थोनी ब्रुदेनले भनेका छन्, “खानाले विश्वशान्ति कायम गर्न त सक्दैन तर यो त्यसको शुरूआत बन्न सक्छ।”

अहिले विश्वका नेताहरूले आपसमा व्यक्तिगत सम्बन्ध निर्माण गर्न राजकीय भोज आयोजना गर्ने अभ्यासलाई ‘पाक कूटनीति’ (क्युलिनरी डिप्लोमेसी) भनिन्छ। त्यस्तै, कुनै पनि राष्ट्रले आफ्ना परिकारलाई विदेशमा प्रचार गर्न र व्यापार एवं पर्यटन प्रवर्द्धन गर्ने अभ्यासलाई ‘ग्यास्ट्रो डिप्लोमेसी’ भनिन्छ। दुवै अभ्यास सौम्य कूटनीतिका अंग हुन् र ती आफैंमा सैन्य कूटनीति विपरीत छन्। 

आफ्नो चासोमा अरूलाई सहमत गराउन यी दुवै कूटनीति प्रभावकारी सावित भइआएका छन्।

अमेरिकाभित्रै विभाजन चुलिएको छ र विश्वभर हिंसा भड्किएको वर्तमान समयमा मानिसहरूले इतिहासको यो आधारभूत शिक्षा या त बिर्सिएका छन् या बेवास्ता गरिरहेछन्। सिनेट डाइनिङ रूम वा वाशिङटन ककटेल पार्टीहरूमा निर्माण हुने सम्बन्ध र गरिने निर्णयहरूको मात्रा घटिरहेको। 

आलोचकहरूले २१औं शताब्दीमा पनि परम्परागत राजकीय भोजनको के नै आवश्यकता छ र भनेर प्रश्न गरिरहेछन्। ग्यास्ट्रो डिप्लोमेसी बेकारको र अनावश्यक सौम्य कूटनीति भएको भनेर आरोप लगाउन थालिएको छ।

इतिहास, सहज ज्ञान र मानव शरीरमाथि नै प्रश्नको चाङ चुलिंदै जाँदा आलोचकहरूले सामान्य यथार्थ भने बिर्सिएका छन्- हरेकले खानैपर्छ।

अक्सफोर्ड विश्वविद्यालयमा इभोल्युशनरी मनोविज्ञानका प्राध्यापक रोबिन डुनबारको शब्दमा अन्ततः हामी ‘जैविक रूपमा नै मानवीय अन्तरक्रियाका लागि बनेका छौं।’ एकअर्कासँग असहमत हुँदा पनि हामीले सँगै खान जरुरी छ। यस्तो किन हुन्छ भन्ने हामीलाई थाहा छैन। तर डा. डुनबारको सिद्धान्तले के भन्छ भने, सामूहिक रूपमा खाँदा इन्ड्रोफिन्स हर्मोन उत्सर्जन हुन्छ। त्यो हर्मोनका कारण हाम्रो शरीर राम्रो व्यवहार गर्न उत्साहित हुन्छ। 

कतिसम्म भने चिम्पान्जी जस्ता मानिसका नजिकका स्तनधारीहरू पनि हामीले जसरी सामूहिक भोजन गर्दैनन्। यो मानवीय अभ्यासले नै हाम्रो अस्तित्व सुनिश्चित गरेको हो। कोभिड महामारी जस्ता एक्लै बस्नुपर्ने समयले हामीलाई सहभोजनको महत्त्व सम्झाइदिएको छ।

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति नै हाम्रा मुख्य भोज आयोजक हुन्। ह्वाइट हाउसमा हुने महत्त्वपूर्ण कार्यक्रममध्ये एउटा राजकीय भोज हो। अहिले पनि विभिन्न राज्यका प्रमुख आउँदा यस्ता भोज आयोजना गरिन्छन्। तिनको सांकेतिक महत्त्व पनि यथावत् छ। यस्ता भोजले अमेरिकी उदारता, शक्ति, खाना र मनोरञ्जन प्रदर्शन गर्छन्। साथै, अतिथि राष्ट्रप्रति हाम्रो सम्मान प्रस्तुत गर्छन्।

अमेरिकामा पहिलो राजकीय भोजनको आयोजना डिसेम्बर १८७४ मा भएको थियो जति वेला युलेसिस ग्रान्ट (अमेरिकाका १८औं राष्ट्रपति)ले हुवेइयन द्वीपका राजा डेभिड कालाकौवालाई स्वागत गरेका थिए। कालाकौवा चिनी बेच्न चाहन्थे तर अमेरिकाले लगाएको भन्सार करका कारण कठिनाइ महसूस गरिरहेका थिए। त्यसैको समाधानको खोजीमा उनी वाशिङटन आएका थिए।

उनलाई राजकीय भोज आयोजना गरेर भव्य स्वागत गरिएको थियो। स्टेट डाइनिङ रूममा भव्य साजसज्जाका साथ आयोजना गरिएको उक्त भोजमा मेरिन ब्यान्डको सांगीतिक प्रस्तुति थियो भने भ्यालेन्टिनो मेलाहले पकाएको शानदार खाना पस्किएको थियो। सन् १८७३ मा प्रकाशित वाशिङटन शहरबारेको पुस्तकमा उनको सूपको निकै प्रशंसा गरिएको छ। 

एक महीनापछि ग्रान्टले चिनी लगायत हुवेइयनका कृषि उत्पादनहरू विना भन्सार कर अमेरिका आयात गर्ने अनुमति दिए। त्यस बापत अमेरिकाले पनि विभिन्न आर्थिक सहुलियत पायो। त्यही सम्झौताकै जगमा हवाई राज्य अमेरिकामा गाभियो र सन् १९५९ मा अमेरिकाको ५०औं राज्य बन्न पुग्यो। 

ग्रान्टले आयोजना गरेको त्यो भोजले राजकीय भोजहरूको संरचना सिर्जना गर्‍यो। डेढ शताब्दी बित्दा पनि त्यो संरचनामा थोरै मात्र परिवर्तन भएको छ।

पक्कै पनि हरेक राष्ट्रपतिसँग स्वागत गर्न आफ्नै शैली हुन्छ। सन् १९७८ मा जिम्मी कार्टरले इजरायलका तत्कालीन प्रधानमन्त्री मेनाहिम बिगेन र इजिप्टका तत्कालीन राष्ट्रपति अनवर अल–शदतलाई क्याम्प डेभिड (अमेरिकी राष्ट्रपतिहरूले रिट्रीट गर्ने ग्रामीण थलो)मा निम्त्याउँदा धेरैले ती दुवै ज्यानीदुश्मन भएकाले शान्ति स्थापना गर्न असम्भव भएको टिप्पणी गरेका थिए। 

उक्त भोजमा रजलेन कार्टर (जिम्मी कार्टरकी पत्नी)ले फरक फरक खाना भिन्दाभिन्दै ठाउँमा राख्न लगाइन्। एउटा परिकार यहाँ राखियो भने अर्को परिकार अर्कैतिर। दुवै देशका कनिष्ठ प्रतिनिधिहरू आपसमा घुलमिल हुन सकून् भनेर त्यसो गरिएको थियो। रजलेनको तरीकाले काम गर्‍यो।

गत जूनमा भएको जेम्स बर्ड फाउन्डेशनको पुरस्कार वितरण समारोहमा अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अमेरिकी खाना ‘संसारसँग सम्बन्ध विस्तार गर्ने बलियो माध्यम भएको’ टिप्पणी गरेका थिए। उनले भनेका थिए, “प्रायः सँगै बसेर खाँदा नयाँ संवाद र सम्पर्कहरू निर्माण हुन्छन् जुन केवल खाना खाने टेबलमा हुन सक्छ, बैठक कक्षमा होइन।” 

ती प्रतिनिधिहरू सँगै बसेर खान सक्थे र शान्तिपूर्वक कुराकानी गर्न सक्थे भने, ‘तिनका नेताले किन सक्दैनथे त?’ उनले आफ्नो संस्मरण फर्स्ट लेडी फ्रम प्लेन्समा लेखेकी छन्। त्यहींबाट ‘क्याम्प डेभिड सम्झौता’ को सूत्रपात भयो।

‘असम्भव भनिएको सम्भव भयो,’ रजलेनले लेखेकी छन्। मार्च १९७९ मा कार्टर दम्पतीले बेगिन, अल–शदत सहित एक हजार ३४० जना पाहुना निम्त्याएर साउथ लनमा भोज आयोजना गरे।

रेगन दम्पती (अमेरिकाका पूर्व राष्ट्रपति रोनल्ड रेगन र उनकी पत्नी न्यान्सी रेगन)ले राजनीति एक प्रकारको प्रदर्शन हो भन्ने बुझेका थिए। सन् १९८५ मा उनीहरूले बेलायतका राजकुमार चार्ल्स र राजकुमारी डायनालाई निम्त्याएर नाटक सहितको रात्रिभोज आयोजना गरेका थिए, जहाँ अमेरिकी अभिनेता जोन ट्राभोल्टा राजकुमारीहरूसँग नाचेका थिए। 

सन् १९८७ मा अमेरिका र तत्कालीन सोभियत संघबीच ‘मध्यवर्ती–दूरीको आणविक शक्ति सम्बन्धी सन्धि’ मा हस्ताक्षर भयो। शीतयुद्धको विश्रामको संकेत दिने उक्त सन्धि भएको उपलक्ष्यमा रेगन दम्पतीले रूसी नेता गोर्वाचेभलाई रात्रिभोज दिएका थिए। उक्त भोजमा सहभागी रूसी विशेषज्ञ ज्याक मात्लोकले लेखेका छन्- दुई देशका नेताहरूबीच देतेन्ते (दुई वैरी देशहरूबीचको सम्बन्ध सुधारलाई जनाउने फ्रान्सेली शब्द)को मान्यताको विकास खाना खाने क्रममै भएको थियो।

पछि, राजकीय भोजलाई महँगो र परम्परागत भनेर आलोचना गर्न थालियो। डोनल्ड ट्रम्पले कोभिड महामारी शुरू हुनुअघि जम्मा दुई पटक मात्रै राजकीय रात्रिभोज आयोजना गरे यद्यपि उनमा त्यसका लागि त्यति रुचि देखिंदैनथ्यो। 

सन् २०१६ मा चुनावी अभियानका क्रममा उनले भनेकै थिए, “हामीले राजकीय भोज आयोजना गर्ने छैनौं। बैठक कक्षमै हामबर्गर खानेछौं र चीन र अन्य देशसँग सम्बन्ध निर्माण गर्नेछौं।” 

उनी जस्तै विचार राख्ने एक जना स्तम्भकारले द फिलाडेल्फिया इन्क्विररमा लेखेकै थिए, ‘राजकीय भोज वाशिङटनका अभिजात वर्गको प्रतीक हो।’

तर ग्यास्ट्रो डिप्लोमेसी अलगाववाद (आइसोलेसनिज्म)को विपरीत हो।

गत फेब्रुअरीमा बाइडेन प्रशासन र जेम्स बर्ड फाउन्डेशनले ‘अमेरिकन क्युलिनरी कोर’ पुनः शुरू गरे जसले सद्‌भावना सञ्चारका लागि अमेरिकाका विभिन्न परिकार प्रवर्द्धन गर्छ। सन् २०१६ मा ओबामा प्रशासनले शुरू गरेको यो कार्यक्रम अन्तर्गत ८० भन्दा बढी सेफहरू संलग्न थिए। जोस एन्ड्रेस, पद्मलक्ष्मी, ग्रेस योङ, सियन शेरम्यान र कार्ला हल जस्ता सेफहरू उक्त कार्यक्रम अन्तर्गत ‘नागरिक कूटनीतिज्ञ’ बन्न तयार भएका थिए। यी परिकारदूतहरूले अमेरिकाभर र संसारैभर अमेरिकाका परिकारहरूको प्रचार गरे।

गत जूनमा भएको जेम्स बर्ड फाउन्डेशनको पुरस्कार वितरण समारोहमा अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अमेरिकी खाना ‘संसारसँग सम्बन्ध विस्तार गर्ने बलियो माध्यम भएको’ टिप्पणी गरेका थिए। उनले भनेका थिए, “प्रायः सँगै बसेर खाँदा नयाँ संवाद र सम्पर्कहरू निर्माण हुन्छन् जुन केवल खाना खाने टेबलमा हुन सक्छ, बैठक कक्षमा होइन।” 

अमेरिकी क्युलिनरी कोरको पुनः शुरूआत गर्दा अमेरिकाको विदेश मन्त्रालयले यसको मुख्य उद्देश्य नै खानालाई ‘जनकूटनीतिको हिस्सा बनाउनु’ रहेको उल्लेख गरेको छ।

आलोचकहरूले टिप्पणी गरे। सामाजिक सञ्जाल प्रयोगकर्ताले यो शुरूआत मूर्खतापूर्ण र फुर्मास भएको भन्दै निन्दा गरे। ट्रम्पको शासनकालमा ‘न्याशनल इन्टिलिजेन्स’ का कार्यकारी निर्देशक रहेका रिचर्ड ग्रेनेलले लेखे, ‘हुँदै हुँदैन। कूटनीति मीठो खानाबाट शुरू हुँदैन। बन्द गर! कमजोर विदेश मन्त्रालयले खाना र घुमघाममा जोड दिएको दैख्दा परराष्ट्रका अधिकारीहरू क्रुद्ध हुनेछन्।’

तर इतिहासबाटै प्रमाणित यस्तो कूटनीतिक अस्त्र हटाउनु आफैंलाई घात गर्नु समान हुनेछ। खाना पेट भर्ने थोक मात्रै होइन। यो पहिचान, इतिहास र विश्वव्यापी भाषा हो। राजकीय भोज र अमेरिकन क्युलिनरी कोरले अमेरिकाको पहिचान, राष्ट्रिय सुरक्षा र विदेश नीति नै प्रवर्द्धन गर्छन्। यो सही लगानी हो शायद सबैभन्दा महत्त्वपूर्ण पनि। 

यस्ता अभ्यासले नेता र नागरिकलाई आपसमा कागजी संकेतका रूपमा नभई मानिसका रूपमा चिन्न सघाउँछन्।

सन् १९६७ मा तत्कालीन अमेरिकी राष्ट्रपति लाइन्डन जोनसनले भियतनाम युद्धका महत्त्वपूर्ण मित्र जापानी प्रधानमन्त्री एसाको सातोको स्वागतमा आयोजना गरेको राजकीय भोजमा सहभागी सेफ जुलिया चाइल्डले एउटा डकुमेन्ट्रीमा दुई जना नेताहरू भोजमा कसरी प्रस्तुत भए भनेर बताएकी छन्। उनका शब्दमा उनीहरू ‘एकअर्कासँग खुशी थिए र त्यो नै सिंगो भोजको मुख्य विषय थियो।’

एकअर्कालाई आमनेसामने बनाउने भएकैले आजको एक्लो र कृत्रिम विश्वमा पाक कूटनीति प्रभावकारी बन्न पुगेको छ। भोजन आधुनिक र कोमल विषय हो। यसलाई बेवास्ता गर्नुभन्दा स्वीकार्नु उपयुक्त हुन्छ। आखिर सँगै बसेर खाना खानु जैविक आवश्यकता नै हो।

– (एलेक्स प्रुडहोम नौ वटा पुस्तकका लेखक हुन्। हालै मात्र उनको पुस्तक ‘डिनर विथ प्रेसिडेन्ट : फूड, पोलिटिक्स, एन्ड हिस्ट्री अफ ब्रेकिङ ब्रेड एट द ह्वाइट हाउस’ सार्वजनिक भएको छ। द न्यूयोर्क टाइम्समा प्रकाशित )

Diplomacy Is Best Conducted at the Dinner Table

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com