नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ ।
बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिनुभयो । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।
जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।
मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाका १२ वर्षीया करिष्मा ठाडा रहेको प्रहरीले जानकारी दिएको छ ।
मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन । जीपमा सातजना सवार थिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।
प्रतिक्रिया दिनुहोस्