काठमाडौं, माघ २६ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नामिबियाको एफिज पार्क मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले अबको केही समयमा ब्याटिङ गर्नेछ ।
आफ्नो पहिलो खेलमा १ विकेटले नामिबियालाई हराएको नेपाल आज पनि जितलाई निरन्तरता दिने योजनामा रहेको छ भने पहिलो खेलमा क्यानडासँग हारेको ओमान पहिलो जितको खोजिमा हुनेछ ।
नेपाल र ओमान २००७ देखि एक अर्काका प्रतिद्वन्द्वी रहँदै आएका छन् । नेपाल र ओमानवीचको यो पाँचौँ खेल हो । यस अघिका खेलमा नेपाल र ओमानले २–२ खेलमा जित हात पारेका छन् ।
प्रतियोगितामा कमजोर मानिएको ओमानविरुद्ध जित निकालेको खण्डमा नेपाललाई विश्वकप छनोट खेल्ने बाटो केही सहज हुनेछ । २००७ मा भएको एसीसी ट्रफीमा नेपालले ओमानलाई २ रनले हराएको थियो । तर त्यसको बदला ओमानले २००९ को एसीसी ट्रफीमा लिएको थियो । त्यस बेला नेपाल ओमानसँग १२ रनले पराजित भएको थियो ।
२०११ को एसीसी ट्रफीमा पनि नेपाल ओमानसंग २ रनले पराजित भएको थियो । २०१३ मा बर्मूडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ मा नेपाल च्याम्पियन बन्दा समुह चरणमा ओमानलाई हराएको थियो ।
यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो ।
प्रतिक्रिया दिनुहोस्