काठमाडौं, २२ माघ । एमालेले प्रदेश नम्बर १ को संसदीय दलको नेता निर्वाचनबाट छान्ने तय भएको छ ।
सोमबार बिहान बसेको प्रदेश कमिटीको बैठकमा सहमति जुट्न नसकेपछि दलको नेता निर्वाचनबाट टुंगो लाग्ने देखिएको हो।
एमालेको संसदीय दलको नेता प्रदेशको मुख्यमन्त्री बन्ने भएकाले प्रदेश १ को संसदीय दलमा त्रिकोणीय प्रतिस्पर्धा छ। प्रदेश इन्चार्ज भीम आचार्य, पूर्वमन्त्री शेरधन राई र जीवन घिमिरेले संसदीय दलको नेतामा दाबी गरेका छन्।
सहमति जुट्न नसकेपछि अब निर्वाचनबाट दलको नेता चयन गरिने सांसद शेरधन राईले बताए। निर्वाचनका लागि माघ २६ गतेको मिति तोकिएको समेत उनले जानकारी दिए।
निर्वाचनका लागि चूडामणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
वाम गठबन्धनको सहमति अनुसार प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको छ।
प्रतिक्रिया दिनुहोस्