काठमाडौं २१ असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्न नमिल्ने बताएका छन्।
पार्टीनिकट प्रेस सेन्टरले बिहीबार बिहान चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री श्रेष्ठले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरितको कुरा रहेको बताएका हुन्।
‘स्टन्टबाजीको रूपमा बाहिर प्रचार गर्नु र भाषण गर्दा बोल्नु एउटा कुरा हो,’ उनले भने, ‘तर प्रधानमन्त्री जो बहुमतद्वारा निर्वाचित छ, उहाँको राजीनामा माग गरेर संसद अवरूद्ध गर्नु संसदीय मान्यताविपरीतको कुरा हो। त्यसो गर्न मिल्दैन।‘
उपप्रधानमन्त्री श्रेष्ठले यी कुराहरू बुझेर विपक्षी दलहरूले संसदलाई सुचारू गर्न सहयोग गर्नेमा आशावादी रहेको बताए।
पार्टीका वरिष्ट उपाध्यक्षसमेत रहेका श्रेष्ठले भ्रष्टाचारको फाइल अनुहार हेरेर नखोलिएको पनि बताए। उनले भ्रष्टाचारविरूद्धको अभियानमा प्रहरीलाई कुनपनि दबाब र प्रभावमा नपरी स्वतन्त्र ढंगले काम गर्न निर्देशन दिइएको र प्रहरीको अनुसन्धानमा जजसलाई ल्याउनुपर्ने देखिन्छ उनीहरूलाई कानुनी दायरामा ल्याइने बताए।
‘तथ्य र प्रमाणले जे देखाउँछ त्यो आधारमा जहाँसम्म पुग्नुपर्छ त्यहाँसम्म पुग्नुस् भनिएको छ। त्यो निर्देशन अनुसार प्रहरी संगठनले स्वतन्त्र र निष्पक्ष ढंगबाट अनुसन्धान अगाडी बढाइराखेको छ,’ उनले भने, ‘तर हामी पार्टीसँग वा कुन समूदायसँग वा नातासम्बन्ध भनेर छुट दिँदैनौं। अनुसन्धानले जसलाई ल्याउनुपर्ने देखाउँछ त्यसलाई ल्याउँछौं। यो अभियान जारी छ।’
प्रतिक्रिया दिनुहोस्