काठमाडौं १९ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीनजनाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।
न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजालसमा पेसी तोकिएको यो मुद्दामा खाजा समयपछि सुनुवाइ हुने भनिएको थियो।
तर पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले आफूहरुलाई रिहा गर्न माग गर्दै हालेको रिटको सुनुवाइ अब अर्को दिनलाई सरेको हो। उनीहरुले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।
उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत मंगलबार पक्राउ गरेको थियो। जिल्ला अदालतले बुधबार सात दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ।
ललिता निवास प्रकरण स् तीनजनाको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुँडालको इजलासमा
हिरासतमै राखेर अनुसन्धान हुने भएपछि उनीहरु रिहा गर्न माग गर्दै सर्वोच्च पुगेका थिए।
तर यही मुद्दामा अख्तियारले प्रतिवादी बनाएका १७ जनाले सर्वोच्चबाट पक्राउ नगर्न अन्तरिम आदेश लिएपछि यसैलाई आधार बनाउँदै अन्यले पनि रिहा गर्न माग गरेका थिए।
सर्वोच्च अदालतकै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले गत साउन १९ गते उनीहरुलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो।
यीमध्ये तीनजनालाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। तर सर्वोच्चको आदेश पेस गरेपछि त्यसै दिन छाडिएको थियो।
पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको छ।
वि.सं. २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो।
यसअघि अख्तियारले भ्रष्टाचारको कसुरमा आरोपपत्र दायर गरेको थियो। विशेष अदालतबाट उनीहरु धरौटीमा रिहा भएका थिए। अहिले प्रहरीले ठगी र सरकारी कागजात कीर्तेको कसुरमा मुद्दा चलाउने तयारी गरेको हो।
प्रतिक्रिया दिनुहोस्