
काठमाडौं, २० माघ । नेकपा एमालेले निर्वाचनबाट मुख्यमन्त्री छनौटको तयारी गरिरहदा माओवादी केन्द्रमा भने प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको विषयलाई लिएर विवाद सुरु भएको छ।
प्रदेश इञ्चार्जले छलफल नै नगरी एकलौटी ढंगले सिफारिस गरेको भन्दै असन्तुष्ट पक्षले त्यसको विरोध गरेका छन्।
माओवादीको प्रदेश कार्यालय डोटीले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि शुक्रबार प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टको नाम सिफारिस गरेको थियो।
तर प्रदेश इञ्चार्ज लेखराज भट्ट र सह इञ्चार्ज लक्ष्मणदत्त जोशीले प्रदेश कमिटीमा छलफल नै नगरी मुख्यमन्त्रीमा नाम सिफारिस गरेको भन्दै असन्तुष्ट सांसदहरुले त्यसको विरुद्धमा उम्मेदवार उठाउने तयारी गरेका छन्।
मुख्यमन्त्रीका आकांक्षी वीरमान थारुले नेतृत्वले निर्णय नसच्याए प्रदेशको सिफारिस विरुद्ध उम्मेदवार खडा गर्ने बताए।
थारु बहुल प्रदेश मानिएको प्रदेश नम्बर ७ मा माओवादी केन्द्रले वाम गठबन्धनको सहमति अनुसार मुख्यमन्त्री र उपसभामुख पद पाएको छ।
त्यस्तै, प्रदेश नम्बर ६ मा पनि माओवादी केन्द्रले प्रादेशिक सरकारको नेतृत्व गर्नेछ। प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको सिफारिस चाँडै निर्णय गरिने प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले बताए।







प्रतिक्रिया दिनुहोस्