ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जोखिम न्यूनीकरण’को जोखिम


कार्ल बिल्ट ,पूर्वप्रधानमन्त्री,स्विडेन
असार १६, २०८० शनिबार  ८ : ०४ बजे

केही दिन यता एउटा नयाँ ‘मन्त्र’ गुञ्जिन थालेको छ । एकाएक अमेरिका र युरोपमा नीति निर्माताहरू चीनसँगको सम्बन्धमा ‘जोखिम न्यूनीकरण’ (डिरिस्किङ) शब्द भट्याउन थालेका छन् । यस शब्दले त्यसरी नै एकाएक सबैको मुखमुखमा बस्न पुगेको ‘पारपाचुके’ (डिकपलिङ)को ठाउँ लिएको छ । यसबाट पश्चिम र चीनबीचको सम्बन्ध पूरै तोड्न चाहिँ कोही पनि चाहँदो रहेनछ भन्ने पनि उजागर भएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग पारपाचुके नै गर्नु न त वाञ्छनीय हो न सम्भव नै हुन्छ । यसैले सबै नै बढी अस्पष्ट अवधारणामा सहमत भएको हुनुपर्छ ।
‘डिकपलिङ’ को अर्थ स्पष्ट बुझिन्थ्यो भने ‘डिरिस्किङ’को व्याख्या जसरी गरे पनि हुन्छ । सबै आर्थिक गतिविधिमा जोखिम त अन्तर्निहित नै हुन्छ भने बजार अर्थतन्त्रमा जोखिमले अन्वेषण, वृद्धि र थप सम्पन्नतातर्फ लैजान्छ । जोखिमरहित अर्थ व्यवस्था सम्भव हुन्थ्यो भने यसले कुनै प्रतिफल दिने थिएन र वृद्धि अवरुद्ध हुनेथियो ।
विशाल बहुराष्ट्रिय कम्पनीहरूदेखि ससाना पारिवारिक व्यवसायसम्मका सबै आर्थिक पात्रहरू निरन्तर जोखिम र अवसरको लेखाजोखा गरिरहेका हुन्छन् र यी दुईका बीचमा समुचित सन्तुलन कायम राखिरहन चाहन्छन् । हुनत, कुनै कुनै जोखिम टार्नै नसकिने हुन्छ तैपनि त्यसको जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने कोसिस गरिन्छ । यस अर्थमा जोखिम न्यूनीकरण खुला अर्थतन्त्रको स्थिर एवं विवादरहित विशेषता हो र राष्ट्रिय अर्थतन्त्रको जोखिम न्यून गर्न त सबै आर्थिक खेलाडीहरू प्रयत्नरत नै रहन्छन् ।

चीनका सन्दर्भमा अधिकतर पश्चिमी कम्पनीहरूको जोखिम मूल्याङ्कन त्यस मुलुकको बढ्दो राज्य केन्द्रित र सुरक्षामुखी आर्थिक नीतिहरूका प्रतिक्रियामा बदलिन थालिसकेको छ । अहिले चीनको वृद्धिको सम्भावना कमजोर भएको छ भने अर्थतन्त्र पनि कुनै बेलाको जस्तो आकर्षक छैन । लामै समयदेखि बलियो विश्लेषणात्मक दक्षता भएको मानिने बेइजिङको युरोपियन चेम्बर अफ कमर्सको पछिल्लो प्रतिवेदनले जोखिम बढ्दो र अवसर घट्दो रहेको चित्रण गरेको छ । यो निष्कर्ष वासिङटन वा ब्रसेल्सको राजनीतिक आग्रहमा नभएर पूर्णतः चीनकै वास्तविकतामा आधारित छ । चीनले बजार अर्थतन्त्र र खुलापन अपनायो भने युरोपियन च्याम्बरको मूल्याङ्कन पनि परिवर्तन होला ।
हालैका अनुभव हेर्ने हो भने विश्व अर्थतन्त्रको जीवनरेखा मानिने विश्व आपूर्ति शृङखलालाई धक्का र अवरोध सहन सक्षम बनाउन केन्द्रित हुनु बुद्धिमानी हुनेछ । धेरथोर सबै कर्पोरेट बोर्डहरूको एजेन्डामा यो समावेश रहेकै छ । यस अवस्थामा ‘डिरिस्किङ’ पनि एउटा काम नै हो व्यक्तिगत विषय होइन ।
नयाँ राजनीतिक प्रचारवाजीले भने यथार्थभन्दा फरक सन्देश दिएको छ । यसले आन्तरिक कारोबार र लगानीको वातावरण जस्तो भए पनि चीनसँगको व्यापार स्वभावतः जोखिमपूर्ण भएको जनाउँ छ । पश्चिमी नेताहरूमा चीनले व्यापार र अरू आर्थिक सम्पर्कलाई आफूलाई मन नपर्ने देश वा कम्पनीविरुद्ध राजनीतिक दबाब दिन प्रयोग गर्ला भन्ने डर बढ्दै गएको छ । खासै असर नपरे पनि चीनले अस्ट्रेलियाविरुद्ध यस्तो प्रयोग जो गरिसकेको छ ।
भविष्यमा व्यापार गुम्ने डरले विकल्प हुँदाहुँदै पनि अहिले नै व्यापार बन्द गर्नु उपयुक्त हो र ?  मृत्युको भयले सामान्यतः कसैले पनि आत्महत्या त गर्दैन नि । यस्तै चिनियाँ अधिकारीहरूले पनि तिनका अधिकांश आर्थिक दबाबका प्रयत्न विफल भएको यथार्थ आत्मसात् गर्ने अपेक्षा त अझै गर्न सकिन्छ । चीन सरकारको पुनः राज्य नियन्त्रित अर्थतन्त्रमा फर्कने नीतिका हकमा पनि यही लागु हुन्छ । यो अवधारणाले काम नगर्ने त इतिहासले नै देखाएको छ ।
अर्कातिर पश्चिमी मुलुकहरूले न्यून कार्बन अर्थतन्त्रमा जानका लागि आवश्यक धातु र दुर्लभ खनिजतत्त्व ९रियर अर्थ०को आपूर्तिको शृङ्खलामा चीनको नियन्त्रण भएको यथार्थ बिर्सन सक्तैनन् र विश्व बजारमा फोटोभोल्टिक सेल तथा विद्युतीय सवारी साधनको धेरै ठूलो हिस्सा चीनको नियन्त्रणमा छ । तेलजस्तै महत्त्वपूर्ण कच्चा पदार्थ जहाँ पाइए पनि खोज्नुपर्छ । यस्ता ठाउँ सधैँ राजनीतिक दृष्टिबाट उपयुक्त स्थानमै हुन्छ भन्ने त छैन । विविधीकरणका माध्यमबाट आफ्नो आर्थिक कमजोरी र परनिर्भरता कम गर्नु बुद्धिमानी हो तर महत्त्वपूर्ण खनिज पदार्थ प्राकृतिकरूपमा नभएका ठाउँमा खोजेर त पाइँदैन ।
प्रमुख हरित प्रविधिमा मुख्य खेलाडीका रूपमा चीनले खडा गरेको चुनौतीको सामना गर्ने एउटामात्रै उपाय छ त्यो हो युरोपियन र अमेरिकी कम्पनीहरूले चिनियाँ कम्पनीसँग प्।तिस्पर्धा गर्न सक्नुपर्छ । त्यति गर्न नसक्दासम्म सस्तो र राम्रो चिनियाँ उत्पादनलाई उपेक्षा गर्नुको कुनै अर्थ हुँदैन । त्यसो गरिएमा युरोपियन र अमेरिकी कम्पनीलाई चीनलाई भेट्न कठिन हुनेछ र अन्ततः ऊर्जाको परिवर्तनमा ढिलााइ हुनेछ ।
उता चिनियाँ अधिकारीहरूले भने डिरिस्किङ र डिकपलिङमा खासै फरक नदेखेको बताएका छन् । उनीहरूको तर्कमा दम पनि छ । पश्चिमी रणनीतिकारहरूले त्यसको अर्थ के हो र के होइन भन्ने स्पष्ट नपारी नयाँ नयाँ शब्दमात्रै प्रयोग गरिरहने हो भने त्यसबाट लाभभन्दा हानि नै बढी हुनेछ ।
बढ्दो तनावले कसैको पनि हित गर्दैन । सम्बन्ध विच्छेद हुन रोक्नुपर्नेमा सबै सहमतै छन् । अबको काम हाम्रो आर्थिक सम्भावनामा क्षति हुनुभन्दा पहिले जोखिम न्यूनीकरणको अवधारणाको जोखिम कम गर्नु हुनुपर्छ ।
(स्विडेनका पूर्वप्रधानमन्त्री)
प्रोजेक्ट सिन्डिकेट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

सांसद झविलाल डुम्रे

सम्बन्धित

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउन कांग्रेसले राख्यो ४ शर्त (पूर्णपाठ)

प्रधानमन्त्री शाहले गरे राजदूत र कूटनीतिक नियोग प्रमुखसँग सामूहिक संवाद

सरकारी वकिल र प्रहरीको राय : केपी ओली र रमेश लेखकबिरुद्ध ज्यान मुद्धदा चलाउने कानुनी आधार देखिएन

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

“कारागारमा हुनुपर्ने ओली हस्पिटलको बेडमा !” रास्वपा सांसदको तीखो आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com