काठमाडौं, २० माघ । मिची बात्सुयीले आफ्नो डेब्यु खेलमै २ गोल गरेपछि बोरुसिया डर्टमुन्ड एफसी कोलोग्नीमाथि विजयी भएको छ।
बुन्डेसलिगाअन्तर्गत २१औँ चरणको खेलमा गएराति डर्टमुन्डले कोलोग्नीलाई ३–२ ले पराजित गर्दा बात्सुयीले तेस्रो गोलमा पास समेत मिलाएका थिए।
गोलपोष्टबाट करिव १० मिटरको दुरीमा रहेका कोलोग्नीका मिलोस जोजिकले डर्टमुन्डका गोलकिपर रोमान बुयर्कीलाई छलाउन नसक्दा खेलको १३ मिलेटमा अग्रता लिने मौका गुमाए।
उता पाहुना टोली डर्टमुन्डले त्यसपछि दवाव सिर्जना गर्यो र ३४ मिनेटमा गोलको खाता खोल्यो। पहिलो गोल जेरेमी टोलजानको पासमा गोलपोष्टबाट करिव ६ मिटर टाढाबाट बात्सुयीले गरे।
पहिलो हाफको अन्त्यतिर बात्सुयीले गरेको गोललाई भिडियो रेफ्रिले अफसाइड रहेको भन्दै मान्यता दिएनन्।
दोस्रो हाफमा राम्रो सुरुवात गरेको घरेलु टोली कोलोग्नीका सिमोन जोलरले ६० मिनेटमा रिबाउन्ड बललाई हेड गर्दै जाली चुमाउन सफल भए। खेल बराबरीमा पुगेको २ मिनेट पनि बित्न नपाउँदै क्रिस्चियन पुलिसिकको पासमा बात्सुयीले व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।
खेलमा बलियो चुनौती दिएको कोलोग्नीले खेल बराबरीमा ल्याउन मात्र ७ मिनेट कुर्नुपर्यो। जोनास हेक्टरको कर्नरमा जर्ज मेरेले हेड गर्दै बललाई गालपोष्टको दिशा देखाए।
लगातार खुशी छाइरहेको घरेलु टोलीको दर्शक दिर्घा एकाएक शान्त भयो जब डर्टमुन्डका आन्द्रे सुचुर्लीले ८४ मिनेटमा निर्णायक गोल गरे।
जीतसँगै डर्टमुन्ड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । डर्टमुन्डले लिग लिडर बार्यन म्युनिखसँगको अकंदुरी १६ मा झारेको छ। एक खेल कम खेलेको म्युनिखको ५० अंक छ भने डटमन्डले ३४ अंक मात्रै जोड्न सकेको छ।
प्रतिक्रिया दिनुहोस्