काठमाडौं, १७ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते बुधबार छिमेकी मुलुक भारत भ्रमणमा निस्क्दैछन् । प्रधानमन्त्रीले जेठ १४ गते आइतबार भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीदेखि, पूर्व परराष्ट्रमन्त्री, राजनीतिक दल एवम् विज्ञसँग सुझाव लिएका थिए । त्यो बेला राष्ट्रहितको पक्षमा काम गर्न सकारात्मक सुझाव प्राप्त भएको जनाइएको छ । प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र भारतबीच दुईपक्षीय सम्बन्ध प्रगाढ बनाउनुका साथै विकास साझेदारीमा सहकार्य तथा विगतदेखि अल्झिएर बसेका समस्या समाधानमा केन्द्रित हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठ १७ गते बुधबारदेखि २० गतेसम्म छिमेकी मुलुक भारत भ्रमणको कार्यक्रम तय भएको छ । जेठ १८ मा भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीस्थित हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यतालिका छ । सो वार्तापछि संयुक्त पत्रकार सम्मेलन हुनेछ । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्तपछि परम्परादेखि चल्दै आए बमोजिम पहिलो पटक भारत भ्रमण गर्दैछन् । देशमा विस्तृत शान्ति सम्झौता हुँदै संविधानसभाको निर्वाचनमा भाग लिदै गर्दा प्रचण्ड पहिलो भारत भ्रमणको परम्परा तोड्दै चीन भ्रमणमा गए । तर त्यसबाट भारत असन्तुष्ट रहेको बुझेपछि उनले पहिलो राजनीतिक भ्रमण भारतबाटै हुने बताए र केही समयमै भारत भ्रमणमा निस्किए । तत्कालीन भारतीय समकक्षी मनमोहन सिंहको निमन्त्रणामा त्यो बेला प्रधानमन्त्री प्रचण्डको २००८ सेप्टेम्बर १४ देखि १८ मा भारत भ्रमण तय भयो । उनले ५ दिने भ्रमणका क्रममा तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिल, उपराष्ट्रपति हमिद अन्सारी, कंग्रेसकी अध्यक्ष सोनिया गान्धी, भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष लालकृष्ण आडवाणीलगायतलाई भेट गरे । त्यस बेला नेपाल र भारतबीचको सदियौं पुरानो घनिष्ट, सौहार्दपूर्ण र बृहत् सम्बन्ध रहेको भन्दै दुवै मुलुकबाट संयुक्त वक्तव्य जारी भयो । गत मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणाम अनुसार माओवादी केन्द्र संसदमा तेस्रो दलको रुपमा छ र प्रधानमन्त्री छन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । अहिलेको भ्रमणमा विज्ञबाट सकारात्मक सुझाव प्राप्त भएको उनले बताएका छन् ।
पहिलो भारत भ्रमणको ८ वर्षपछि दोस्रो पटक प्रधानमन्त्री बनेका दाहालले सन् २०१६ सेप्टेम्बर १५ देखि १८ मा भारत भ्रमण गरेका थिए । यतिबेला उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भ्रमणमा गए । तात्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि भेटे । त्यो बेला उनले हरिद्वारनजिक पताञ्जली योगपीठ पनि भ्रमण गरे । दोस्रो भ्रमणमा प्रचण्ड र मोदीबीच ‘बहुआयामिक सहकार्य’ गर्ने सहमति भयो । यो भ्रमणमा नेपाल र भारतबीच सबै द्विपक्षीय संस्थागत संयन्त्रको नियमित बैठक बसेर निर्णयलाई छिटो कार्यान्वयन गर्न निर्देशन दिने लगायत भारत–नेपाल संयुक्त आयोगको अर्को बैठक गर्न सहमती भयो । दुई प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा व्यापार, पारवहन, कनेक्टिभिटी र ऊर्जाका क्षेत्रमा यसलाई अझ प्रवद्र्धन गर्ने उपाय खोज्नुपर्ने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोओपरेसन (बिमस्टेक) को ढाँचाभित्र रहेर क्षेत्रीय सहयोग अभिवृद्धि गर्नुपर्ने विषयमा जोड दिइएको उल्लेख छ । त्यो बेला प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पहिलो बैठक सन् २०१६ जुलाईमा काठमाडौंमा भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध स्वतन्त्र दृष्टिकोणबाट रहेको जनाइयो ।
प्रधानमन्त्री प्रचण्ड दोस्रो भ्रमण भएको एक महिनाभित्र तेस्रो भारत भ्रमणमा निस्किए । उनले सन् २०१६ अक्टोबर १५–१७ सम्म छिमेकी राष्ट्र भारतको गोवामा भएको ब्रिक्स–बिमस्टेक आउटरिच शिखर सम्मेलनमा भाग लिए । भारतीय समकक्षी नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग संवाद गरे । ब्रिक्स सम्मेलनका क्रममा दुई एसियाली ठूला राष्ट्रबीचको ‘गतिशील पुल’ का रूपमा नेपाललाई उभ्याउनका लागि उक्त भेट गरेको प्रधानमन्त्री प्रचण्डले जनाएका थिए । त्यो बेला प्रचण्डको दायाँबायाँ मोदी र सी रहेकोे तस्बिर पनि चर्चामा आएको थियो । पहिलो पटक भारत भ्रमण गर्दा उनी संसद्को सबैभन्दा ठूलो दल माओवादीका अध्यक्ष थिए । उनी त्यो परम्परागत भ्रमण तोड्न चाहेपनि तेस्रो पटक प्रधानमन्त्रीको कार्यकाल सम्हाल्ने कालसम्म आइपुग्दा उनी चौथो पटक भारत भ्रमणमा जाँदैछन् । तर, उनले चाहेजस्तो यो परम्परा तोड्ने नभई त्यसैलाई निरन्तरता दिने पक्षमा उनी देखिन्छन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा ऊर्जासम्बन्धी विषयलाई महत्व दिइने भएको छ । नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १० औँ बैठकले पारित गरेका मुख्य विषयले प्रधानमन्त्रीको भ्रमणमा स्थान पाउने छन् । सो बैठकमा दुई देशबीचका मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, अरुण–३ जलविद्युत् तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत् आयात–निर्यातलगायतका विषयमा सहमति भएको थियो । त्यसमध्ये नेपालबाट ५० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेस गरेमा भारतको विद्युत् आयात–निर्यात निर्देशकाबमोजिम भारतीय पक्ष स्वीकृति दिन सकारात्मक रहेको थियो। त्रिदेशीय सम्बन्धको आयाम बोकेको यो विषय प्रधानमन्त्री प्रचण्डको भ्रमणमा पनि प्रमुख कार्यसूचीमा रहेको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्ड र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने छन् । प्रधानमन्त्रीले मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने कार्यतालिका पनि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्