ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशम चौधरीलाई आममाफी दिन मन्त्रिपरिषद् बैठकको राष्ट्रपतिसमक्ष सिफारिस


ABC NEWS

काठमाडौं १४ जेठ । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

गणतन्त्र दिवसका अवसरमा उनको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको उनले बताइन् ।

चौधरीसँग अन्य केहीको बाँकी सजाय र केहीको सजाय माफी गर्ने निर्णय भएको उनले जानकारी दिइन् ।

चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् ।

यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।
संविधानको धारा–२७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने उल्लेख छ । मुलुकी फौजदारी कार्यविधि संहिताले त्यसरी राष्ट्रपतिबाट सजाय माफी पाउन गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

निवेदनउपर कारबाहीका लागि राष्ट्रपतिबाट आदेश भएमा गृह मन्त्रालयले कानुनबमोजिम सजाय माफीको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सजाय माफी गर्ने ऐनमा व्यवस्था छ ।

ऐनको दफा–१५९ (३) मा त्यस्तो निवेदनउपर आवश्यक कारबाहीको लागि राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएमा सो मन्त्रालयले कसुरको प्रकृति र कसूर गर्दाको अवस्था, कसूरदारको उमेर तथा शारीरिक अवस्था, कसूरदारलाई तोकिएको सजायको हद, निजले भोगेको सजाय लगायतका आधारमा निजलाई सजाय माफी गर्ने, मुल्तवी राख्ने, परिवर्तन गर्ने वा कम गर्नेबारे गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्न सक्ने उल्लेख छ ।

तर चौधरीलाई सजाय माफीको निर्णय गर्न सोही ऐनको उपदफा–४ को व्यवस्था भने सरकारका लागि बाधक बन्न सक्छ । सो दफामा भ्रष्टाचार, यातना, जबरजस्ती करणी, क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, जाति हत्या, विस्फोटक पदार्थ, अपहरण, शरीर बन्धक वा व्यक्ति बेपत्ता, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरणलगायत मुद्दाका कसुरदारलाई सजाय माफी गर्न नमिल्ने उल्लेख छ ।

त्यसो त, सरकारले विगतमा पनि ऐनको यो व्यवस्थाविपरीत कर्तव्य ज्यान मुद्दामै अदालतबाट जन्मकैदको सजाय तोकिएका माओवादी नेता एवम् पूर्वसांसद बालकृष्ण ढुंगेललाई सजाय माफीको निर्णय गरिसकेको छ । चौधरीको सजाय माफीका लागि ढुंगेल प्रकरण नजिरको रुपमा रहेको छ ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जन्मकैद सजाय सुनाइएका ढुंगेलले ४० प्रतिशत कैदसमेत भुक्तान नगरी ०७५ को गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सजाय माफी पाएका थिए । उनलाई माफी दिएको विरुद्धमा परेको रिटमा अदालतले सरकारको निर्णयलाई कानुनबमोजिम सदर गरेको थियो । त्यसबेला प्रधानमन्त्री पनि पुष्पकमल दाहाल नै थिए । त्यसआधारमा पनि सम्भवतः सरकारले चौधरीलाई बाँकी सजाय माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

०७२ को भदौमा सुदूरपश्चिममा थरूहट संघर्ष समितिले आन्दोलन चर्काउँदा भएको झडपमा आन्दोलनकारीको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । मुलुक संघीयतामा जाँदा अलग्गै थरुहट प्रान्तको माग गर्दै भएको संघर्ष हिंसात्मक बनेपछि भएको सो घटनामा सरकारले ५८ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

आन्दोलनको नेतृत्व गरेका चौधरीलाई सरकारले घटनाको मुख्य योजनाकारको रुपमा मुद्दा चलायो । घटनापछि फरार रहेका उनले फरार रहेकै अवस्थामा ०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएर कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।

उनले शपथ लिन नपाउँदै प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो । त्यही बेलादेखि चौधरीको रिहाईको विषय सत्ता राजनीतिको जोडघटाउमा समेटिँदै आएको छ भने मूलतः प्रमुख सत्तारुढ दलहरू र प्रधानमन्त्री दाहालले समेत थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा स्वीकार गरिसकेका छन् । विगतमा यी नै दलका सरकारले चौधरीलाई लगाएको मुद्दा फिर्ता लिन पटक-पटक सहमति र कानुनमा संशोधनसमेत भएका छन् ।

राजनीतिक मुद्दालाई अपराधको रुपमा हेरिएको भन्दै आफूलाई न्याय दिन माग गरेका चौधरीले त्यसबेला जनता समाजवादी पार्टीबाटै आफूविरुद्धको मुद्दा फिर्ता गराउन पहल गरेका थिए । पछि उनले आफ्नै निर्देशनमा श्रीमती रञ्जिता चौधरीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी दर्ता गरे, गत निर्वाचन निर्वाचनमा कैलालीमा पहिलो दल बनेको नागरिक उन्मुक्ति अहिले प्रदेश र संघ दुवैतर्फ सत्ता गणितमा निर्णायक पोजिसनमा छ । रेशम रिहाईलाई प्रमुख मुद्दा बनाएको उन्मुक्तिकी अध्यक्ष चौधरी हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत छिन् ।

रेशमलाई जन्मकैदको सजाय हुने गरी जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको फैसलाले गत २ जेठमा सर्वोच्च अदालतले सदर गरेपछि उन्मुक्तिले रेशम चौधरीको रिहाई र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आन्दोलनको घोषणा गरेको थियो । तर सत्ता गठबन्धनमा चौधरीलाई सजाय माफी गराउने विषयमा प्रधानमन्त्री दाहालले आश्वस्त पारेपछि उन्मुक्तिले आन्दोलन स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com