काठमाडौं, २४ चैत ।
काठमाडौं उपत्यकाको केन्द्रमा रहेको खुलामञ्च लामो समयदेखि बन्द रहदै आएको छ । खुलामञ्चको चारैतिरको फलामे ढोका बन्द छन् र ती सबै ढोकामा ताल्चा लगाइएको छ । खुलामञ्चमा आम जनताले राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् विविध विषयमा खुला बहस र छलफल गर्ने थलोको रुपमा रहदै आएको छ । सामाजिक एवम् नागरिकका जीपनयापनसँग मात्र नभई देशको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पु¥याएका नेतृत्वले खुलामञ्च साझा सम्पत्ति रहेको बताएका थिए । तर, वा स्वतन्त्रता नभएको पञ्चायतकालमा खुला रहने खुलामञ्च गणतन्त्रको व्यवस्थामा भने किन बन्द छ भन्ने प्रश्न खडा भएको छ ।
बर्दिबासबाट १२ दिन पैदल यात्रा गरेर ७५ जना मिटरब्याज पीडित चैत १३ गते काठमाडौंको खुलामञ्चमा न्याय माग्न आइपुगे । मिटरब्याजका पीडित जसको घर, जग्गा सबै ऋण तिर्दा–तिर्दै सकियो तर ऋणको किस्ता कहिल्यै सकिएन । पीडकले तिरेको ऋणको कागज नबनाउने र कागज बनिसकेको अवस्थामा समेत धम्कीपूर्ण रुपमा पैसा मागेर मानसिक यातना दिदै आएका छन् । कोही काखे बच्चा च्यापेर त, कोही ६० वर्षभन्दा माथिका वृद्धवृद्धा, महिला न्यायको मागसहित खुलामञ्चमा आएका थिए । तर, काठमाडौं महानगरका प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशका रोक्यो र उनीहरुले खुलामञ्चको गेटबाहिर मूल सडकमा नै रात बिताए । सर्वसाधारण जनताको भावना साट्ने, थकाइ मार्ने, भलाकुसार गर्ने, आफ्ना विचारहरु साटासाट गर्ने खुलामञ्च लामो समयदेखि निरन्तर बन्द छ । यहाँसम्म कि, १२ दिनको पैदल हिडेर न्यायका लागि आइपुगेकालाई समेत एक दिनका लागि पनि ढोका खोल्ने नैतिकता राख्दैन काठमाडौं महानगर ।
यो खुलामञ्च त्यही हो जतिबेला देशमा वाक स्वतन्त्रताको अधिकार पुनःस्थापित भइसकेको थिएन । पञ्चायतकालमा खुला रहन्थ्यो खुलामञ्च । प्रजातन्त्रका विचारक मानिने बीपी कोइरालाले भनेका थिए खुलामञ्च जनताको साझा सम्पत्ति हो । देशको आमूल राजनीतिक परिवर्तनमा सधैं खुलारुपमा साक्षी बसेको छ खुलामञ्च । तर, सिंहदरबारको अधिकार घर–घरमा पुगेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा किन बन्द छ खुलामञ्च, प्रश्न खडा भएको छ ।
देशकै सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पताल खुलामञ्च नजिकै छ । उपचारका लागि देशका विभिन्न जिल्लाबाट काठमाडौं आएकाहरु लागि भारी बिसाउने चौतारा जस्तै पनि थियो । रोजगारीको शिलशिलामा भौतारिएको बेरोजगार युवादेखि केही गर्न खोज्नेहरु जमघट गर्ने, राज्यको राम्रो कामको समर्थन गर्ने, नराम्रो कामको आलोचना गर्ने एक हिसाबमा भन्नुपर्दा भुँइमान्छे गफिने ठाउँ पनि हो खुलामञ्च । काठमाडौं उपत्यकामा खुला ठाउँ नै नभएको स्थितीमा भुकम्प, प्राकृतिक प्रकोपको बेला आपतकालीन बासस्थानको थलो पनि हो यो । सधैं निकै भीडभाड र प्रदुषित रहने परिसरमा कमसेकम खुला सास फेर्ने स्थानको रुपमा पनि खुलामञ्च खुला रहनुपर्नेमा बौद्धिक जमात् एवम् नागरिक अगुवाले आवाज उठाउँदै आएका छन् ।
काठमाडौं महानगरपालिकाले निकै नै गैरजिम्मेवारी ढंगले अहिले त्यस क्षेत्रमा घाँस रोपेकाले बन्द रहेको जनाएको छ । तर, स्थलगत रुपमा त्यहाँ हेर्ने हो भने खुला मैदान मात्र देख्न सकिन्छ । खुलामञ्चमा महानगर, वीर अस्पताल लगायतका निर्माण सामाग्री थोपरिने गरेको त कहिले पार्किङले पुरै ढाक्ने गरेको छ । अहिले त्यहाँ अण्डरग्राउण्ड पार्किङ बनाउन खोजिएको हो या के हो स्पष्ट कुरा बाहिर आएको छैन । काठमाडौं महानगरले खुलामञ्च खुला नै रहने हिसाबबाट त्यहाँ पूर्णरुपमा खाली गरेको हो भने साझा सम्पत्तिको रुपमा रहेको खुलामञ्च छिटोभन्दा छिटो खुला रहनुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्