काठमाडौं, १५ माघ । बाम गठबन्धनले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन अरु राजनीतिक दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बामगठबन्धनको कार्यदलसहित एमाले र माओबादी केन्द्रका अध्यक्षबीच भएको छलफलमा जोखिम क्षेत्रमा रहेका आफ्ना उम्मेदवारको विजय कसरी सुनिश्चित गर्ने विषयमा छलफल भएको हो ।
एमाले अध्यक्ष केपी ओली र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु माधब नेपाल, रामबहादुर थापा बादल, सुभाष नेम्वाङ र नारायणकाजी श्रेष्ठबीच राष्ट्रियसभाका उम्मेदवारहरुको प्राथमिकता सूचीका बारेमा छलफल भएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता नेम्वाङले राष्ट्रियसभाका बामगठबन्धनका उम्मेदवारको विजय सुनिश्चित गर्ने सन्दर्भमा अन्य राजनीतिक दलसँग पनि सहकार्य गर्न गृहकार्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
बैठकमा प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखका सन्दर्भमा संयुक्त कार्यदलले हिजो दिएको सुझावका बारेमा भने छलफल नै नभएको उहाको भनाई छ । पार्टी एकता संयोजन समितिको चाँडै बस्ने बैठकले त्यसबारेमा निर्णय गर्ने नेम्वाङले जानकारी दिनुभयो ।
यसअघि कार्यदलले मुख्यमन्त्रीमा एमाले ४ र माओबादी २, सभामुखमा एमाले ४ र माओबादी २, उपसभामुखमा एमाले २ र माओबादी ४ स्थानमा सिट बाँडफाँड गरेको छ ।
प्रतिक्रिया दिनुहोस्