काठमाडौं, १४ फागुन ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि हिजो शनिबार राष्ट्रपतिका उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन् । आठ दलीय गठबन्धनबाट पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी यो आठ दलको गठबन्धनमा जम्मा ३१ हजार नौ सय १७ मत छ ।
जसअन्तर्गत, कांग्रेससँग १६ हजार १ सय ४२, माओवादी केन्द्रसँग ७ हजार ७ सय ४५ मतभार छ । यसैगरी नेकपा एकीकृत समाजवादीसँग २ हजार ५ सय ७४, जनता समाजवादीसँग २ हजार १ सय ४५, जनमत पार्टीसँग १ हजार २ सय ४२, लोकतान्त्रिक समाजवादी पार्टीसँग ९ सय ७१ मत छ । यस्तै नागरिक उन्मुक्ति पार्टीसँग ८ सय ९२ र जनमोर्चा २ सय ६ मतभार छ । यी सबै पार्टीले मत दिएको अवस्थामा पौडेलको जित पक्का छ ।
यता, एमालेसँग भने जम्मा १५ हजार ३ सय १२ मतभार छ । नेम्वाङलाई जितका लागि थप ११ हजार ३ मतभार आवश्यक छ । राप्रपा र रास्वपाले राष्ट्रपतिमा कसलाई सघाउने भन्नेबारे निर्णय लिइसकेको छैन । यो अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सघाउन एकीकृत समाजवादीलाई पत्र लेखिसकेको छ । तर, समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले पत्रले संवादको बाटो खुलेको सकारात्मक प्रतिक्रिया दिदै सघाउन भने नसकिने बताइसकेका छन् ।
झण्डै दोब्बरभन्दा बढी मत कम भएको स्पष्ट जान्दा–जान्दै एमालेले राष्ट्रपतिमा उम्मेदवार खडा गरेको छ । एमाले सचिव योगेश भट्टराईले प्रतिकुलतालाई अनुकूलतामा परिनत गर्ने ल्याकत एमालेले राखेका कारण यसखाले निर्णय लिइएको बताएका छन् । अन्ततः यो खाडलमा भने नेम्वाङ पर्ने निश्चित जस्तै देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्