काठमाडौं, १२ माघ । भूकम्प पीडितलाई सुलभ ऋण नदिने बैंकलाई कार्वाही गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुषालले बताएका छन् । भुषालले भूकम्पपीडितका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन सम्बन्धीत निकायका अधिकारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन् ।

प्राधिकरणमा शुक्रबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएसनका प्रतिनिधिसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो । हालसम्म प्रमाणित भएका सात लाख ६७ हजार भूकम्पपीडितमध्ये ६५९ पीडितले मात्र यो सुविधा पाएका छन् ।
छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले तीन दिनभित्र ऋण दिने विधि र प्रक्रिया बैंकमा सार्वजनिकरुपमा टाँस्न पनि निर्देशन दिए । अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले ऋणको ब्याज सरकारले दिने प्रतिबद्धता जनाएको जानकारी दिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पीडितलाई ऋण दिँदा दुई प्रतिशत ब्याजबाहेक अन्य रकम लिन नपाउने व्यवस्था कार्यविधिमा गरिएको बताए ।
बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सरकारसँग भएको सम्झौताअनुसार उपत्यकाका भूकम्पपीडितका लागि रु २५ लाख र बाहिरका पीडितका लागि रु १५ लाख नदिने बैंकलाई कारबाही गरिने प्रतिबद्धता दिए ।







प्रतिक्रिया दिनुहोस्