ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड (सम्वोधनको पूर्णपाठ)


abc

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र विकास एकअर्काको परिपूरक रहेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकार लागिपरेको उल्लेख गर्दै जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘सुशासन र विकास एक अर्काका परिपूरक हुन् । जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउन सरकार प्रतिबद्ध छ ।’

सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनुचित लेनदेन नियन्त्रण गर्ने गरी सरकारले काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार भ्रष्टाचार नियन्त्रण गर्नका लागि हदैसम्म लागिपरेको दोहोर्‍याए ।

प्रचण्डले भ्रष्टाचार नियन्त्रणसम्बन्धी नयाँ ऐन, संसद्बाट पारित गराउन पारित लागिएको पनि सो अवसरमा जानकारी गराए । यस्तै अख्तियारको सक्रियतामा मात्रै भ्रष्टाचार नियन्त्रणमा सम्भव हुने उल्लेख गर्दै प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा गरेमा नागरिकको अपेक्षा पनि पुरा हुन सक्ने धारणा राखे ।

उनले सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सबै निकायको सहयोगको अपेक्षा गरिएको पनि धारणा राखे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्रीको मन्तव्य

सम्माननीय राष्ट्रपतिज्यू,
सम्माननीय उपराष्ट्रपतिज्यू,
सम्माननीय कायममुकायम प्रधानन्यायाधीशज्यू,
प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
माननीय उपप्रधानमन्त्रीज्यूहरू,
प्रतिनिधिसभाका माननीय उपसभामुखज्यू,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा संवैधानिक निकायका प्रमुखहरू,
उपस्थित अन्य पदाधिकारी तथा राष्ट्रसेवकहरु,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बतीसौं स्थापना दिवस मनाउँदै छ। स्थापना कालदेखि हालसम्म भ्रष्टाचार नियन्त्रणमा आयोगको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दछु।भ्रष्टाचारविरुद्ध सचेतना अभिवृद्धि गरी सुशासन प्रवर्द्धनका निमित्त जागरण ल्याउन आजको दिन महत्वपूर्ण हुने विश्वास मैले लिएको छु।

मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ।नेपालको संविधानबाट संवैधानिक निकायको रुपमा स्थापित यस संस्था स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेछ भन्ने कुरामा विश्‍वस्त छु।

भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फवाट हरप्रकारको सहयोग र समर्थन रहनेछ। नेपाल सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम् कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधन सहित अधिकार सम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूति गर्ने एवम् भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका विषयको छानवीन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानूनी कारवाही अगाडि बढाउने प्रतिवद्धता वर्तमान सरकारले गरेको कुरा म यहाँ स्मरण गराउन चाहन्छु।

शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता आधारभूत सेवादेखि राष्ट्रिय परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, लगायत प्रशासनिक सेवामा सरलता, शिघ्रता, सुलभता र पारदर्शिता कायम गर्न सरकार निकै संवेदनशील भई लागि परेको छ। सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा सदाचारिता अभिवृद्धि गर्न सूचना प्रविधिको अधिकतम् प्रयोगमार्फत सेवा प्रदायक र सेवाग्राही बिचको प्रत्यक्ष सम्पर्कलाई घटाई सेवा प्रवाहमा हुन सक्ने ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई कामको थालनी भईसकेको छ। भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम् हुने कुरा समेत आजको यस महत्वपूर्ण अवसरमा दोहोर्याउन चाहान्छु।

भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्रको हैसियतले भ्रष्टाचार विरुद्धको विश्वव्यापी प्रयासमा ऐक्यबद्धता प्रकट गर्दै राष्ट्रिय प्रतिवद्धता पूरा गर्न नेपाल सरकार दृढ संकल्पित छ। यसै सिलसिलामा महासन्धिमा उल्लिखित विषयको पूर्ण कार्यान्वयनका लागि हाल प्रचलनमा रहेको भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा समसामयिक सुधार गरी यसै वर्षभित्र नयाँ ऐन संसदबाट पारित गराउन सरकारको तर्फबाट आवश्यक प्रयास गरिनेछ। भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउँदै सुशासन कायम गर्न सार्वजनिक सेवा प्रवाहमा सुधारमार्फत नागरिकका आवश्यकतालाई सर्वोपरि ठानी सार्वजनिक पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरुले आ(आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। हामी सबैको सहकार्यले मात्र दिगो शान्ति, विकास, सुशासन र समृद्धिको राष्ट्रिय आकांक्षा हाँसिल हुने तथ्य हृदयंगम गर्न समेत सबैमा हार्दिक अपिल गर्दछु। आजको विशेष दिनले हामी सबैलाई थप ऊर्जा र क्रियाशीलताका साथ भ्रष्टाचार विरूद्ध सक्रिय रहन प्रेरणा दिने विश्वास लिएको छु।

वर्तमान सरकारले लिएका लक्ष्यहरू आर्थिक समृद्धि र सुशासन प्रवर्द्धनमा अख्तियार दुरूपयोग आयोग जस्ता संबैधानिक आयोगहरूको भूमिका महत्वपूर्ण हुन्छ।आयोगको सक्रिय भूमिकाले भ्रष्टाचार नियन्त्रण, सरल सेवा प्रवाह, नागरिक अधिकार जस्ता पक्षको कार्यान्वयनमा महत्वपूर्ण नतिजा प्राप्त हुन सक्दछ। वर्तमान सरकारका लक्ष्य प्राप्तिमा सवल, सक्षम र गतिशील आयोगको आवश्यकता मैले महसुस गरेको छु। यसका लागि आयोगको क्षमता विकास, दक्षता अभिबृद्धि, उच्च प्रविधिको प्रयोग तथा तथ्यपरक अनुसन्धान प्रणालीको अवलम्बन अपरिहार्य छ।यसका लागि कानूनी सुधार, स्रोतको व्यवस्थापन, जनशक्ति परिचालन तथा संरचनागत सुधारमा सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु। सुशासन कायम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न समयमा नेपाल सरकारलाई दिइएका सुझावहरूको अध्ययन गरिरहेको र ती सुझावहरूलाई कार्ययोजना सहित कार्यान्वयन गर्नेतर्फ नेपाल सरकारको योजना रहेको स्मरण गर्दछु।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रूपान्तरण गर्न तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत् एवं आम नागरिक सबैसँग निरन्तर समन्वय, सहयोग र सहकार्यको अपेक्षा गर्दछु।

अन्त्यमा, सुशासन र सदाचारका पक्षमा सचेतना फैलाउँदै भ्रष्टाचार र अनियमितता विरुद्ध आयोगले गरेको योगदान उल्लेखनीय रहेको छ। भ्रष्टाचार विरुद्धको लडाईमा आयोगवाट भएको सत्प्रयासको निरन्तरताका लागि शुभेच्छा व्यक्त गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बत्तिसौ स्थापना दिवसको उपलक्ष्यमा आयोग परिवार तथा सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

सम्बन्धित

बजेटले आर्थिक संकट देखायो, समाधान दिएन : ओली

नयाँ बजेटमार्फत सरकारले कर छुट र सहुलियत दिएका क्षेत्रहरु

यी २० संस्था खारेज गर्ने सरकोको घोषणा (सूची)

प्रधानमन्त्री प्रचण्डले संसदलाई भारत भ्रमणको जानकारी दिए, सरकारी टोली ५० सदस्यीय,निजी क्षेत्रका गरी ८८ जना

बजेट हाइलाइट्स : बद्नामा सांसद विकास कोष देखि गाँजा खेतीको अध्ययन, १ सयमा कम्पनी दर्ता लगायत

१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट : अघिल्लो भन्दा ४२ अर्बले घट्यो, के के थपिए के घटे ? (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com