ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेँसीवासी


एबीसी / संवाददाता

गण्डकी, १८ माघ । पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति । पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने चलन हराइसकेको छ । यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र ढोडबेँसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ ।

मालेपाटन ढोडबेँसी क्षेत्रमा उखुखेती कहिलेबाट गर्न थालियो भन्ने यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको पाइएको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले जानकारी दिए । “खुदो यस क्षेत्रको विशिष्ट पहिचान हो, यसको व्यावसायिक खेतीतर्फ स्थानीयवासी आकर्षित छन्,” उनले भने, “दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ हामीले जोड दिएका छौँ ।”

सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ । नेपाली संस्कृतिअनुसार पुसे पन्ध्रमा लटे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ ।

उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको पौडेलले जानकारी दिए ।

कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुनलागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन् । व्यावसायिकताको प्रयाससँगै संगठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालनलगायत लगानी गरिँदै आएको छ ।

मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ । मालेपाटन ढोडबेँसी क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखु लगाउँदै आएका छन् ।

उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ । अनी रस पकाइन्छ । उक्त रसलाई घन्टौँ पकाएपछि खुदो तयार हुन्छ । यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ । पकाउने कामलाई पनि व्यवस्थित बनाइएको कृषक रामप्रसाद ढकालले जानकारी दिए ।

पहिचान जोगाउन ब्राण्डिङ
मालेपाटन ढोडबेँसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै अघिल्लो वर्षदेखि यसलाई ब्राण्डिङ गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटरको बोतलमा राखेर गत वर्ष नै बजारमा लगिएकामा यस वर्ष पनि एक हजार बोतल प्याकेजिङ गरिएको सहकारीका अध्यक्ष पौडेलले जानकारी दिए ।

यस वर्ष प्याकेजिङ गरिएकामध्ये पाँच सय बोतल बिक्री भइसकेको जानकारी दिँदै उनले यस वर्ष पनि तराईतिरबाट ल्याइएको खुदो मालेपाटन र ढोडबेँसीको भन्दै ठाउँ–ठाउँमा बिक्री हुने गरेको पाइएको बताए । गुणस्तर परीक्षणसहित सिलबन्दी खुदोको खुद्रा मूल्य प्रतिलिटर तीन सय ५० निर्धारण गरिएको छ । दश लिटरभन्दा बढी लैजानेका लागि प्रतिलिटर तीन सय २५ लिने गरिएको छ । सहकारीका अलावा स्थानीयले घर–घरबाट पनि खुदोको व्यापार गर्दै आएका छन् ।

महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्राण्डिङ तथा प्रवर्द्धनका लागि महानगरपालिकाले सहयोग गरेको बताए । महानगरपालिकाले ‘एक वडा, एक उत्पादन’कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा वडा नम्बर ३२ मा उखुखेतीमा जोड दिने कडरियाले जानकारी दिए ।

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् । उखुमा लाग्ने गरेको ढुसीजन्य रोगले उत्पादनमा कमी आएको स्थानीयको गुनासो छ । यस वर्ष वर्षातको समयमा उखु ढलेपछि चिन्तित बनेका यहाँका स्थानीयलाई औषधि छर्नका लागि कृषि ज्ञान केन्द्रले स्प्रे उपलब्ध गराएको थियो । औषधि छरेसँगै क्षतिमा कमी आएको थियो ।

उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेँसीको भन्दै बिक्री गर्न थालिँदा चिन्तित बनेका छन् । करिब ६० देखि ७० कृषकले उखुबाट वार्षिक ६० लाख आम्दानी गर्ने गरेकामा वर्षात्मा सेतो ढुसीका कारण उखु लड्दा उत्पादन केही कम भएको अवसर पारी तराईबाट खुदो ल्याएर मालेपाटन र ढोडबेँसीको भन्दै बिक्री गर्ने गरिएकोे स्थानीयवासी रामप्रसाद ढकालले बताए ।

“पछिल्ला वर्षमा यस क्षेत्रमा उखुको व्यावसायिक खेती हुने गरेको छ, व्यक्तिगतरूपमा नै कतिपयले एक सय ४० टिनसम्म (प्रति टिन १६–१७ लिटरसम्म हुने) खुदो उत्पादन गर्ने गरेका छन्”, उनले भने । स्थानीयले यहाँको गुणस्तरीय खुदो घर–घरबाट प्रतिमाना रु दुई सयमा बिक्री गर्ने गरेको उल्लेख गर्दै उनले तराईबाट ल्याइएको कम गुणस्तरको खुदो प्रतिमाना १४० देखि १५० सम्म बेच्दा स्थानीय उत्पादन बिक्री गर्न सस्यामा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित

नागरिकता विधेयक– मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com