
काठमाडौं, ११ माघ । देशभरका सरकारी अस्पतालमा तीन सय भन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत वर्ष करिब ८० जना विशेषज्ञ चिकित्सकको बढुवा भए पनि, अवकास भएको र छोडेकाको मात्रा पनि उक्तिकै भएकाले देशभरमा अझै तीन सय भन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव रहनेछ ।
स्वास्थ्य ऐन अनुसार लोकसेवाबाट विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न पाँच वर्ष काम गरेको अनुभव चाहिने र त्यस्ता चिकित्सक नेपालमा थोरैमात्र भएका कारण सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीको भनाइ छ।
५० शैयाको इलाम जिल्ला अस्पतालमा आठजना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेपनि अहिले स्त्रीरोग, बालरोग र दन्तरोग विशेषज्ञ मात्र कार्यरत छन् ।
त्यस्तै झापा भद्रपुरको मेची अञ्चल अस्पतालमा २२ जनाको विशेषज्ञ चिकित्सकको दरवन्दी रहे पनि अहिले १० जना मात्र कार्यरत छन् ।
सरकारी अस्पतालमा कहिले पनि पूरै दरबन्दीका चिकित्सक खटाउने सम्भावना नहुने बताउदै स्वास्थ्य मन्त्रालयका उपसचिन बाबुराम खनालले भने, ‘करिब चार सय विशेषज्ञ चिकित्सक अभाव रहेकोमा गत वर्ष करीब ८० जना बढुवामा पर्नु भएको छ। अर्को साता बढुवा समितिको बैठक फेरि बस्दैछ। अब करिब तीन सयजनाको अभाव हुने सम्भावना छ। सरकारी अस्पतालमा कहिले पनि पूरै दरबन्दीका चिकित्सक खटाउने सम्भावना हुँदैन।’
यसले सरकारी अस्पतालले दिने सेवा प्रभावित बनेको छ । कार्यरत रहेका चिकित्सकहरू पनि लामो विदामा बस्ने गरेका कारण सरकारी अस्पतालहरूमा सेवा खस्किँदै गएको अस्पतालका समितिहरूले बताएका छन्।
देशभरका सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सक अभावका कारण सुलभ स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनु परिरहेको सर्वसाधारणको गुनासो छ ।
बीबीसी







प्रतिक्रिया दिनुहोस्