ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपूर्वको भूराजनीति : चीनसँग नजिकिँदै साउदी अरब


बसु शर्मा

यही वर्षको जुलाईमा अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबको भ्रमण गरेदेखि नै चिनियाँ राष्ट्रपति सी जिनपिङले छिट्टै रियादको भ्रमण गर्न सक्ने अनुमान गरिएको थियो । वर्षको अन्तिम महिना डिसेम्बरमा सीको साउदी अरब भ्रमण भयो । भ्रमणमा सीले साउदी अरबका अतिरिक्त झन्डै ३० अरब मुलुकका नेता सम्मिलित शिखर सम्मेलनमा सहभागिता जनाए । डिसेम्बर ७ देखि चलेको सीको तीनदिने साउदी भ्रमणले यी दुई देशलाई थप नजिक्याएको छ । चीनसँगको साउदीको बढ्दो घनिष्टतालाई विज्ञहरूले पहिलेदेखि नै भूराजनीतिक रूपमा महŒवपूर्ण हुने बताउँदै आएका छन् । अहिले आएर अमेरिका–साउदी सम्बन्ध बिग्रिँदै गएको समयमा चिनियाँ राष्ट्र प्रमुखको रियाद भ्रमणलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ । भू–आर्थिक र राजनीतिक घटनाक्रमहरूको शृंखलाले खाडी क्षेत्रमा अमेरिका विस्थापित हुने र चीन भित्रिने स्थिति सिर्जना गरेको छ ।

साउदी शासक र अभिजात वर्ग सधैँ अमेरिका केन्द्रित रहँदै आएका छन् । आर्थिक रूपमा अहिले चीनसँग केही नजिक देखिएको भए पनि अझै साउदी अरबले अमेरिकासँग ‘विशेष सम्बन्ध’को मजा लिइरहेको छ । यद्यपि केही समययता व्यक्तिगत रूपमा साउदी युवराज मोहम्मद बिन सलमान र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको टकरावले दुई मुलुकको सम्बन्ध नै तिक्त बनेको छ । सम्बन्ध यो स्तरसम्म गिरेको देखियो कि युवराज सलमानले ८० वर्षे अमेरिकी राष्ट्रपतिको मानसिक क्षमतामै प्रश्न उठाउन पुगे । युवराज सलमानले सार्वजनिक रूपमा बाइडेनभन्दा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध सहज भएको बताए ।

अमेरिका निवासी पत्रकार जमाल खसोग्गीको टर्कीस्थित साउदी वाणिज्य दूतावासभित्र भएको हत्यापछि ट्रम्पले साउदी युवराजको प्रतिरक्षा गरेको परिपे्रक्ष्यमा युवराजको प्राथमिकतामा ट्रम्प परेको बुझ्न सकिने कुरा हो । जबकि वर्तमान राष्ट्रपति जो बाइडेन भने मोहम्मद बिन सलमानका कटु आलोचकका रूपमा देखिएका छन् । बाइडेनले खसोग्गीको हत्याका लागि सलमानलाई सीधै दोषी मानेको सिआइए दस्ताबेज मात्रै सार्वजनिक गरिदिएनन्, साउदी अरब, त्यसमा पनि त्यहाँका युवराज सलमानलाई ‘एक्ल्याउने’ अभियान पनि चलाए ।

अमेरिका र साउदीको चिसिँदो सम्बन्धपछाडिका अन्य कारण भने भूराजनीतिक छन् । इरानसँग वार्तालाई सुचारु गर्ने बाइडेन प्रशासनको बारम्बारको प्रयासले साउदी अरब चिढिएको छ । रियादको बेइजिङतर्फ झुकावको एक महŒवपूर्ण कारण यही हो ।

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकालगायत शक्ति राष्ट्रले इरानसँग गरेको ‘जोयन्ट कम्प्रेहेन्सिब प्लान अफ एक्सन (जेसिपिओए)लाई ‘अहिलेसम्मकै खराब सम्झौता’ भन्दै सम्झौताबाट अमेरिकालाई निकाले । ट्रम्पको उक्त कदम साउदी अरबलाई खुसी बनाउने उद्देश्यले ल्याइएको थियो । साथै ट्रम्पले साउदी अरबलाई पश्चिम एसियाको ‘यथास्थिति’ नबिथोलिने कुरामा विश्वस्त पार्ने प्रयास गरेका थिए ।

तर, जो बाइडेनको आगमनले नयाँ परिस्थिति सिर्जना भयो । ट्रम्पअघिका अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानसँग आणविक वार्तापछि जेसिपिओए सम्झौता हस्ताक्षर गर्दा बाइडेन उपराष्ट्रपति थिए । त्यस अर्थमा यस सम्झौताको सफलतालाई बाइडेनले आफ्नो विदेश नीतिको बिरासतको रूपमा हेरेको बताइन्छ । त्यो कुरालाई बाइडेनको कदमले पनि पुष्टि गर्छ । उनी सत्तामा आएसँगै अमेरिकालाई इरानसँगको आणविक सम्झौतामा फर्काउने प्रयास सुरु गरेका थिए । युक्रेन युद्ध र इरानमा चलिरहेको प्रदर्शनका कारण अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता रोकिए पनि अप्रत्यक्ष वार्ता जारी छ । यदि तेहरानसँगको अप्रत्यक्ष वार्ता सफल भयो र त्यसपछि जेसिपिओए पुनर्जीवित भयो भने इरानमाथि ट्रम्प–युगको तेल प्रतिबन्ध हटाइनेछ । इरानी तेलमाथि लागेको प्रतिबन्ध हट्दा विश्व बजारमा थप तेल प्रवेश गर्नेछ । परिणामस्वरूप तेलको मूल्य घट्नेछ, जसका कारण अमेरिकामा बढ्दो महँगी नियन्त्रणमा आएर असन्तोष घट्नेछ । इरानले पूर्ण क्षमतामा तेल बेच्न थालेमा नयाँ बढेको आयले उसले पश्चिम एसियामा उसका प्रोक्सीहरूमा थप लगानी गर्न सक्ने साउदीको डर छ । अधिकांश इरानी छद्म शक्ति साउदीलगायत सुन्नी शक्तिविरुद्ध सञ्चालित छ ।

अमेरिका पश्चिम एसियाबाट बाहिरिने प्रयासमा रहेको संकेतले पनि साउदीका राजनीतिक सम्भ्रान्त वर्गलाई चिन्तित तुल्याएको छ । गत वर्ष पेन्टागनले ‘प्याट्रियट मिसाइल ब्याट्रीसहित वायु प्रतिरक्षा उपकरण’ पश्चिम एसियाबाट हटाउने निर्णय ग¥यो । अमेरिकी रक्षा मन्त्रालयले साउदी अरबलाई आफ्ना हित र साझेदारलाई सघाउन अमेरिकी हवाई तथा नौसेना अझै तैनाथ रहेको बताएर विश्वस्त बनाउने प्रयास ग¥यो । तर, रियाद अमेरिकी प्रतिबद्धताबाट विश्वस्त हुन सकिरहेको छैन । ‘यो प्रतिबद्धता पहिले यमन र इरानबाट साउदी अरबका तेल भण्डारमाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भइरहने अनि अमेरिकाले साउदी अरबबाट ‘प्याट्रियट मिसाइल’ फिर्ता नगर्ने भनेजस्तो भयो,’ साउदी अरबका गुप्तचर पूर्वप्रमुख राजकुमार टर्की अल–फैसल भन्छन् ।

अमेरिकाले पश्चिम एसियाका हवाई प्रतिरक्षा प्रणाली युक्रेनतर्फ सार्ने काम सुरु गरिसकेको छ । हुन त ती प्रणाली केही समयपछि नै परिपूर्ति गर्ने भनेर अमेरिकाले आफ्ना खाडी साझेदारलाई आश्वस्त गर्ने प्रयास गरेको छ । तर, यस स्थानान्तरणले अमेरिकाको सुरक्षा प्राथमिकता पश्चिम एसियाबाट युरोपतर्फ मोडिदिएको संकेत गर्छ । जुलाईको साउदी भ्रमणका क्रममा बाइडेनले जेदाहमा दिएको भाषणमा पनि साउदी एलिटमाझ कायम यस चिन्तालाई स्विकारेका थिए । ‘हामी मध्य–पूर्वमा रुस वा चीनले भर्ने खालको रिक्तता छाड्ने छैनौँ । हामी नतिजामा ध्यान दिनेछौँ,’ बाइडेनले सम्बोधनमा भनेका थिए ।

अमेरिकाले विश्वास दिलाउने प्रयास गरे पनि धरातलमा भने ‘अब्राहम सम्झौता’मार्फत इजरायल–अरबबीचको तिक्त सम्बन्ध ‘सामान्यीकरण’ गरेर अमेरिका यस क्षेत्रबाट पछि हट्ने दिशामा छ भन्ने भावना व्याप्त छ । लाल सागरमा अवस्थित दुई टापु तिरन र सानाफिर (जसलाई पश्चिम एसियाको सम्भावित लडाइँ क्षेत्र मानिन्छ)बाट अमेरिकी सेना फिर्तीलाई साउदी अरबले ध्यान दिएको छ । अहिलेका लागि अमेरिकाको उपस्थितिविना अरब क्षेत्रमा शान्ति लामो समय टिक्न गाह्रो छ । अमेरिकाले अकाबा खाडीमा सैन्य गतिविधि हुन नदिन महŒवपूर्ण भूमिका खेलेको थियो । अब्राहम सम्झौताअनुरूप खाडीबाट युरोपसम्म कच्चा तेल ढुवानी गर्ने युएईका तेल ट्यांकरलाई इलाट क्षेत्रमा अनुमति दिने विषयमा इजरायलमा विरोध सुरु भइसकेको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा भोलिका दिनमा थप वृद्धि भए इजरायल र खाडी मुलुकबीचको सम्बन्ध ‘सामान्यीकरण’मा धक्का पुग्न सक्छ ।

रियाद र मस्कोबीचको घनिष्टता अहिले उच्च बिन्दुमा छ । अमेरिकाको विरोधलाई बेवास्ता गर्दै साउदी युवराज मोहम्मद बिन सलमानले पुटिनसँगको सम्बन्धलाई प्राथमिकता दिइरहेका छन् । बाइडेनले साउदीलाई उसको विशाल तेल स्रोत उत्खनन् वृद्धि गर्न माग गर्दा साउदीले उल्टो ओपेकमार्फत विश्वव्यापी आपूर्ति प्रतिदिन १०–२० लाख ब्यारेलले कटौती गर्ने निर्णय ग¥यो । यसबाट वासिंगटन साउदीसँग चिढिएको छ भने रुसले तेल मूल्यबाट लाभ लिने देखिएको छ । जुन स्रोत युक्रेनमा जारी युद्धलाई निरन्तरता दिन सहयोगी हुने मानिएको छ । तेल आपूर्ति कटौती गर्ने साउदी निर्णयपछि अमेरिकामा साउदी अरेबियालाई ‘दण्डित’ गर्नुपर्ने आवाज बढेको छ । अमेरिकी आक्रोशको सबैभन्दा बलियो अभिव्यक्ति प्रस्तुत गर्दै अमेरिकी सिनेटका विदेशी सम्बन्ध समितिका अध्यक्ष रोबर्ट मेनेन्डेजले साउदी अरेबियालाई अमेरिकाले दिइरहेको सबै अमेरिकी सहयोग रोक्का गर्नुपर्ने आह्वान गरेका छन् ।

अमेरिकी विदेश नीति बहसमा चीनसँगको ‘रणनीतिक प्रतिस्पर्धा’ले प्रभुत्व जमाएको भए पनि अमेरिकाले पश्चिम एसियालाई पूर्ण बेवास्ता गर्न सक्दैन । अमेरिकाले आफ्नो सबैभन्दा महŒवपूर्ण साझेदारलाई बेवास्ता गरेर बाहिरिएपछि बन्ने रिक्तता पुर्न चीन सधैँ इच्छुक देखिन्छ । अफगानिस्तानबाट अपमानजनक बहिर्गमनपछि अमेरिकाको विश्वसनीयतामा ठूलो धक्का लागेको छ । साउदी शासकमाझ अमेरिकाले आफ्ना प्रतिबद्धता कायम राख्नेछ भन्ने कुरामा शंका छ । उसले रुसलाई फाइदा हुने गरी तेल उत्पादन घटाएर वासिंगटनको मागलाई अस्वीकार गरिदियो । अहिले आफ्ना पश्चिमी साझेदारको अनिच्छाविरुद्ध चीनसँग फेरि सम्बन्ध विस्तार गर्न इच्छुक देखिन्छ ।

डिसेम्बर ७ मा रियाद टेकेका सी महŒवपूर्ण बैठक गरेर स्वदेश फर्किका छन् । रियादमै उनले चीन–अरब शिखर सम्मेलनमा अन्य पश्चिम एसियाली मुलुक तथा उत्तर अफ्रिकाका अरबी बहुल राष्ट्रका नेतालाई भेटे । रियादमा सीले चिनियाँ तथा साउदी फर्मबीच हरित ऊर्जा, सूचना प्रविधि, क्लाउड सेवा, यातायात, निर्माण र अन्य क्षेत्रमा लगानीलाई समेट्ने गरी कुल ३४ सम्झौता गरे । यी सम्झौता कुल ३० अर्ब डलरको भएको साउदी मिडियाले संकेत गरेका छन् । साउदी अरेबियाको कुल कच्चा तेल निर्यातको २७ प्रतिशत हिस्सा एक्लै खरिद गर्ने चीन साउदीको सबैभन्दा ठूलो व्यापार साझेदार हो । तथापि साउदी–चीन व्यापार मुख्यतया पेट्रोलियम उत्पादन र रसायनको किनबेचमा सीमित छ ।

साउदी अरबले देशलाई खनिज इन्धनमाथिको निर्भरता कम गर्ने गरी अघि सारेको आर्थिक रूपान्तरणको योजना ‘भिजन २०३०’ को कार्यन्वयनमा, चीन महŒवपूर्ण प्राविधिक सहयोगी हुने देखिएको छ । फाइबर अप्टिक सेवाको आपूर्तिदेखि लिएर अन्तरिक्ष प्रविधिमा सहकार्य र पर्यटन पूर्वाधारको विकास तथा हतियार प्रणालीको बिक्रीमा चीनले पश्चिम एसियामा प्रवेश गर्न कुनै कसर छाडेको छैन । साउदी अरबसँग घरेलु रूपमा परमाणु इन्धन उत्पादन गर्न पर्याप्त युरेनियम भण्डार छ । केही रिपोर्टअनुसार बेइजिङले रियादलाई आणविक प्रशोधन संयन्त्र विकास गर्न मद्दत गरिरहेको छ ।

चीन–अरब शिखर सम्मेलनपछि दुई मुलुकबीचको राजनीतिक–सुरक्षा सहकार्य विस्तार हुने अपेक्षा छ । रणनीतिक रूपमा बेइजिङले आफ्नो सबैभन्दा ठूलो ऊर्जा स्रोत मुलुकमाथि आफ्नो नियन्त्रण सुरक्षित गर्न, बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) र साउदी भिजन २०३० बीच थप तालमेलका लागि जोड दिनेछ । त्यसअतिरिक्त चीनले साउदी अरबलाई आफ्ना थप हतियार बेच्ने गरी हतियार खरिद सम्झौता गर्न चाहन्छ । तर, द्विपक्षीय रणनीतिक सम्बन्धभन्दा बाहिर चीनले यस भेगको परम्परागत प्रतिद्वन्द्वीलाई कसरी पहिल्याउनेछ, त्यो हेर्न भने रोचक हुनेछ ।

(रणनीतिक तथा आर्थिक मामिलाका विश्लेषक वैशाली बसु शर्मा झन्डै एक दशकदेखि नेसनल सेक्युरिटी काउन्सिलको सेक्रेटारियटमा कन्सल्ट्यान्टको रूपमा काम गरिरहेकी छिन् ।)

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ : ओली

काठमाडौँ, १६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका

बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, श्रीमती घाइते

बाँके, १६ माघ । बाँकेको कोहलपुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएर छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । आइतबार साँझ कोहलपुर नगरपालिका–२

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई भाजपा प्रवक्ता इल्मीले भेटिन्

काठमाडौँ, १६ माघ । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

सम्बन्धित

शहीदका सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न प्रधानमन्त्रीको प्रचण्डको आह्वान

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com