काठमाडौँ । मूल्यवृद्धि गरेको एक वर्ष नपुग्दै डेरी उद्योगीहरूले दूधको खुद्रा मूल्य फेरि बढाएका छन् । डेरी उद्योग संघको संरक्षणमा केही डेरी उद्योगीले किसानको बहाना बनाउँदै दूधमा प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएका हुन् ।
राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुईरदुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न पाइन्छ ।
यसअघि ०७८ माघ २८ मा सरकारले दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाइसकेको छ । तर सरोकारवाला निकायसँग छलफल र नीतिविपरीत केही उद्योगीले मनलाग्दी मूल्य बढाएका हुन् ।
‘दूधको न्यूनतम मूल्य करिब ६० हुँदा उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । अहिले किसानलाई तिर्नुपर्ने मूल्य प्रतिलिटर १०–१२ रुपैयाँ बढेको छ । न्यूनतम मूल्य नै ७०/७२ पुग्यो,’ डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले भने, ‘कि उद्योग बन्द गर्नुपर्यो, होइन भने मूल्य समायोजनको विकल्प रहेन । किसानबाट दबाब आएकैले उद्योगीहरूले आफैं मूल्य बढाए । यो संघको निर्णय भने होइन ।’
बढेको मूल्य शनिबार (पुस १६) देखि नै लागू हुने संघले जनाएको छ । अध्यक्ष दाहालले मूल्यवृद्धिको निर्णय संघको नभएको दाबी गरे पनि उनकै राजधानी डेरीले शनिबारदेखि बढेको मूल्य कार्यान्वयन गर्दै छ ।







प्रतिक्रिया दिनुहोस्