काठमाडौं, ४ पुस ।
पछिल्लो समय, देशैभरमा घरजग्गा कारोबार निकै सुस्त गतिमा छ । बैंक तथा वित्तिय संस्थाको घरजग्गा लिलामीको सूचना बढेका छन् तर, किन्ने ग्राहकको संख्या निकै न्यून छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्षमा घरजग्गा कारोबारमा विगतको भन्दा ५० प्रतिशतले कमी आएको छ । जसकारण, ऋण काढेर घरजग्गामा लगानी गरेका व्यवसायीहरु समस्यामा परेका छन् ।
पछिल्लो समय, घरजग्गाको किनबेच असाध्यै सुस्त छ । घरजग्गा धितोमा राखेर ऋण लगेकाहरुले नियमित साँवा र ब्याज तिर्न सकेका छैनन् । जसकारण, बैंक तथा वित्तिय संस्थाहरुले लिलामीको सूचना प्रकाशन त गरेका छन् तर, एकै घरजग्गाको पटक–पटक सूचना निकाल्दा पनि यसका ग्राहक भेटिएका छैनन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार एक वर्षअघिको मंसिर महिनामा देशभर ६९ हजार ४१२ वटा घरजग्गा किनबेच भएको थियो । तर, यस वर्षको गत मंसिरमा २९ हजार १८४ वटा मात्रै घरजग्गा कारोबार भयो । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा देशभर एक लाख ५१ हजार ६६ वटा घरजग्गा किनबेचका लिखित पास भए । गत वर्षको यही अवधिमा देशभर तीन लाख २४ हजार १३९ वटा घरजग्गा लिखित पास भएका थिए । गत वर्षको तुलनामा यो वर्ष घरजग्गा किनबेच ३ प्रतिशतले घटेको तथ्यांक छ ।
त्यसो त, नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानीमा निरुत्साहन गर्ने लिएको नीतिको परिणामस्वरुप पनि यो अवस्था आएको हो । केन्द्रीय बैंकले चालू पूँजी कर्जाको मार्गदर्शन जारी गर्दै कर्जा दुरुपयोग रोक्न बैंक तथा वित्तिय संस्थालाई बाध्य पारेको थियो । जसले गर्दा व्यवसायिक प्रयोजन देखाएर ऋण लिने र घरजग्गा किनबेच गर्ने विगतको धन्दामा रोक लाग्यो । घरजग्गा किनबेच गर्ने नयाँ पूजी बजारमा आउन सकेन र ऋण लिएर घरजग्गामा लगानी गर्नेहरुले पर्याप्त ऋण पाएनन् । बैंक तथा वित्तिय संस्थाको ब्याजदर १३ देखि १४ प्रतिशतको हाराहारीमा छ, यस क्षेत्रको बढ्दो ब्याजदरका कारण घरजग्गाका लगानीकर्ता निरुत्साहित भए । त्यसो त, विश्वव्यापीरुपमा स्वास्थ्य लगायत आर्थिक क्षेत्रमा देखिएको जटिलताका कारण देशकै समग्र अर्थतन्त्र निराशाजनक अवस्थामा रहेका बेला यस क्षेत्रको व्यवसाय झनै ओरालो लागेको हो ।
भू–उपयोग नियमावली अनुसार जग्गाको किताकाट नभएका कारण पनि जग्गाको किनबेच रोकिएको छ । सरकारले देशभरीको जग्गा खण्डीकरण रोक्न भू–उपयोग नियमावली जारी गरेको छ तर, सो प्रावधान अनुसार जग्गाको वर्गिकरण हुन सकेको छैन । काठमाडौंमा चन्द्रागिरी नगरपालिकाले मात्रै यसखाले वर्गिकरण गरेपनि अधिकांश स्थानीय तहले कृषियोग्य, आवास लगायतका क्षेत्र छुट्याएको छैन । वर्गिकरण नहुदा सिंगो जग्गा किनबेचको चक्र प्रभावित छ । यी विविध कारणको असर घरजग्गा व्यवसायमा बढ्दै गएको हो ।
हरेक महिना ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुने गरेकोमा यस वर्षका पछिल्ला महिनाहरुमा यो कारोबार आधा पनि छैन । कात्तिकमा २७ हजार ९३९ वटा घरजग्गाको लिखित किनबेच भयो । यो संख्यामा असोजमा ३३ हजार ४३८ र भदौमा ३४ हजार ७२० रह्यो । बैंक तथा वित्तिय संस्थाको कुल ऋणको दुईतिहाई घरजग्गा धितोमा छ । विगतका वर्षमा घरजग्गाको मूल्य अत्याधिक बढेका कारण यो क्षेत्र जोखिमयुक्त बन्दै गएको थियो । तर, लिलामी घरजग्गा किन्ने ग्राहक नभएपछि स्वभाविकरुपमा मूल्य घटाएर बिक्रिवितरण गर्नुपर्ने बाध्यता छ । यस क्षेत्रमा लगानी गरेका कयौं सहकारीले निक्षेप फिर्ता गर्न नसक्ने अवस्था बनेको छ । बैंकहरु पनि खराब कर्जा बढ्ने जोखिमले आत्तिएका छन् । घरजग्गा व्यवसायको यसखाले जोखिमउन्मुख अवस्थाप्रति सम्बन्धित पक्षले सतर्कता अप्नाउन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्