काठमाडौं, २३ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका छन्। सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन्।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सहमति गरेका देउवाले सिट बाँडफाँटमा पार्टीले कसरी, कुन आधारमा कति सिट लिने भन्ने टुंगो लगाउन पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
अहिले नेताहरु बालुवाटार पुगिसकेको र छलफल जारी रहेको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत छलफलमा सहभागी छन्।
बैठकमा गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलमा सदस्य रहेका नेताहरु समेत सहभागी रहेका छन्। कार्यदलमा कांग्रेसको तर्फबाट महामन्त्री गगन थापा, नेताहरु कृष्ण सिटौला र ज्ञानेन्द्र बहादुर कार्की छन्। पार्टीको बैठकमा छलफल भएपछि गठबन्धनमा कसरी प्रस्तुत हुने भनेर टुंगो लाग्ने नेताहरुको भनाइ छ।
कांग्रेसले असार अन्तिम साता बसेको केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको थियो। सत्ता गठबन्धन गर्न बनेको कार्यदलको बैठक आज दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने तय छ। आज आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभाको सिट बाँडफाँडको गृहकार्य गर्न बैठक बस्न लागेको हो।
प्रतिक्रिया दिनुहोस्