काठमाडौं, ४ माघ । आज मनाउने भनिएको सोनाम ल्होछार विवादमा परेको छ । तथापि आज सरकारले ल्होछारको अवसरमा सार्वजनिक विदा दिएको छ ।
विभिन्न पात्रोका आधारमा व्याख्या विश्लेषण र विश्वास गर्दा ल्होछार विवादमा परेको हो ।

विवादका बीच तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी कुकुर वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वअध्यक्ष एवं तामाङ समुदायको चाड पर्वका विषयमा खोज गरिरहनुभएका सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।
ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको अर्का अनुसन्धानकर्ता टीका शेर्पाले बताउनुभयो ।
यसअवसरमा नेपाल तामाङ राष्ट्रिय घेदुङलगायत संस्थाले काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिनेछ ।
ल्होछार समारोहमा सहभागी हुनका लागि आयोजकले सबैमा अनुरोध गरेको छ ।
राष्ट्रपतिबाट शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले सोनम ल्होछार २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको तामाङ जाति तथा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको उल्लेख गर्नुभएको छ ।
यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न र जातजातिबीच सामाजिक सद्भाव अभिवृद्धि गर्न सफल हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न सके विश्वसामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने बताउनुभएको छ ।
सोनम ल्होछार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमंग बढाओस् र देशमा शान्ति, समृद्धि र सहिष्णुता कायम गरी आर्थिक र सामाजिक रुपले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।
तामाङ समुदायमा यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरञ्जन र खुशी साटासाट गरी मनाउने प्रचलन छ ।
ल्होछार समरोहको एबीसी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दैछ ।







प्रतिक्रिया दिनुहोस्