काठमाडौँ, १८ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गर्नु भएकाे छ। गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गर्नु भएका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गर्नुभएकाे हाे । जसअनुसार उहाँले छ जनालाई उपाध्यक्ष बनाउनु भएकाे छ भने चार जनालाई महामन्त्री र छ जनालाई सहायक मन्त्री बनाउनु भएकाे छ।
राप्रपा प्रवक्ता सुरेश आचार्यले जारी गरेको विज्ञप्तिमा राजीब पराजुली (पर्सा), उद्धव पौडेल (काठमाडौं), जयकुमार खड्का (काठमाडौं), राजेन्द्र वीर राय (बाँके), डा. विष्णु भण्डारी (तनहुँ) र लाक्पा तामाङ (धनकुटा) उपाध्यक्ष चयन हुनुभएकाे छ । आज मनोनयनमा परेकामध्ये उपाध्यक्ष लाक्पाले आफू अध्यक्ष रहेको राप्रपा नेपाल कमल थापाको जिम्मा लगाउनु भएकाे थियाे ।
उहाँले कमल थापाले राप्रपा परित्याग गरेपछि थापालाई पार्टी बुझाउनु भएकाे हाे । यसैगरी महामन्त्रीमा भास्कर भद्रा (ललितपुर), सुशिल श्रेष्ठ (महोत्तरी), इन्द्र चित्रकार (काठमाडौं) र राजाराम बर्तौला (मकवानपुर) मनोनित हुँदा सहायक महामन्त्रीमा हरिकृष्ण श्रेष्ठ (सुनसरी), धरम गुरुङ (पर्वत), अम्बिका प्रसाद ढकाल (भोजपुर), शिव कुमार बास्तोला (कास्की), ममता राई (झापा) र शशिरञ्जन यादव (महोत्तरी) चयन हुनुभएकाे छ ।
यसअघि फागुन १५ मा पनि थापाले ६ जनालाई पदाधिकारीमा मनोनयन गर्नुभएकाे थियाे । त्यतिबेला उहाँले कोषाध्यक्ष, प्रवक्ता र सहमहामन्त्री मनोनयन गर्नुभएकाे हाे । जसअनुसार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ मनोनित हुनुभएकाे थियाे भने प्रवक्तामा बसन्तमान सिंह अधिकारी र सुरेश आचार्य मनोनित हुँदा सहमहामन्त्रीमा हिक्मत बहादुर ढकाल, तेजकुमार कुरुम्बाङ र आइतराम तामाङ चयन हुनुभएकाे थियाे । यससँगै राप्रपा नेपालमा पदाधिकारी संख्या अध्यक्षसहित २३ सदस्यीय भएको छ ।
प्रतिक्रिया दिनुहोस्