ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गम बस्तीका कथा : ‘लघुजलविद्युत् बगाउँदा गाउँ अन्धकार, पहिराले उठीबासको त्रास’


एबीसी / संवाददाता

बेनी । धौलागिरि गाउँपालिका–२ लुलाङ भौगोलिकरूपमा विकट छ । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयवासीलाई आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २० गते आएको बाढीले लघुजलविद्युत् परियोजना बगाएपछि त गाउँ नै अन्धकार बनेको छ ।

परियोजनाको विद्युत्गृहसहित मुहान र बिजुलीको पोलसमेत बगाएपछि यतिबेला दरखोला दोस्रो लघुजलविद्युत् परियोजना पूर्णरूपमा बन्द भएको छ । यसबाट गाउँका ३५४ घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । त्रिचालीस किलोवाट क्षमताको लघुजलविद्युत् परियोजना बगाएर गाउँ नै अन्धकार बनेको अवस्थामा कात्तिक ५ गतेको पहिराले लमसुङवासीमा त्रास बढाएको छ । दरखोलाको कटानले बस्तीमुनिको पाखो बग्न थालेपछि चार घर विस्थापितसमेत भएका थिए ।

अहिले हिउँदयाम भएकाले पुनः सोही ठाउँमा बस्दै आए पनि पहिराको जोखिम नहटेको स्थानीय पलु पुनले गुनासो गर्नुभयो । “हाम्रो उठीबास लाग्ने भएको छ, पहिरो जाँदा केही समय घर छाडेर निस्किएका थियौँ, अहिले वैकल्पिक बासको व्यवस्था नहुँदा पुनः पहिरोको जोखिमका बीच घरमा फर्किएका छौँ, तर अब यहाँ लामो समय बस्ने अवस्था देखिएको छैन, पहिरो रोकथामतर्फ केही काम सुरु भएको छैन”, उहाँले भन्नुभयो ।

पहिरोले ज्ञानबहादुर पाइजा, रनप्रसाद पाइजा, दलबहादुर राना र पलु पुनको घर उच्च जोखिममा छ । बस्तीसँगै रहेको स्वास्थ्यचौकी, पशु सेवा केन्द्र, हुलाक र लमसुङ माध्यमिक विद्यालयसमेत पहिरोको चपेटामा परेका छन् । दरखोलाकै कटानले मलसुङस्थित बगरका मनप्रसाद सुनार, अथमा बुढा, लिलबहादुर बुढा र कृष्ण गौचनको घरसमेत जोखिममा परेको छ ।

पहिराले करिब रु १५ करोडभन्दा बढीको भौतिक पूर्वाधारमा क्षति पु¥याउने जोखिम बढेका कारण तत्काल नदीको कटान रोकथाम र पहिरो नियन्त्रणको लागि ग्याबिन जाली लगाउने काम गर्नुपर्ने स्थानीय अगुवा ज्ञानबहादुर पाइजाले बताउनुभयो । “पहिले लमसुङ गाउँदेखि माथिको पहिरोले सतायो, त्यो पहिरो रोकिनसक्दै बस्तीमुनिबाट पहिराले त्रास सिर्जना गरेको छ, यो हिउँदमा तटबन्ध र ग्याबिन जाली लगाउने काम गर्न नसके आगामी बर्सातमा बाढी र पहिरोले गाउँमा ठूलो क्षति निम्त्याउने निश्चित छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्यचौकीलगायतका पूर्वाधार बनाउन ठूलो सङ्घर्ष भएको स्मरण गर्दै उहाँले पहिरो रोकथाम नभए बस्तीसँगै स्वास्थ्यचौकीसमेत बग्ने जोखिम रहेको बताउनुभयो । मुना–ढोरपाटन सडकले खोरियाको धराटोलको १३ घर पहिरोको जोखिममा परेको स्थानीयवासीको भनाइ छ । सिङ्गो वडाका अधिकांश बस्ती पहिरोको चपेटामा पर्दासमेत पहिरो नियन्त्रण र रोकथामका लागि कुनै पनि तहका सरकारले चासो नदिएको स्थानीयवासीको गुनासो छ । यसअघि लमसुङ गाउँको शिरबाट खस्न सुरु गरेको जुगेपानीको पहिरोले वर्षौंसम्म स्थानीयवासीलाई त्रासमा बस्न बाध्य बनाएको थियो ।

चार महिनादेखि सिङ्गो गाउँ अन्धकारमा

धवलागिरि–२ विगत चार महिनादेखि अन्धकार बनेको छ । गत भदौ २० गते अविरल वर्षासँगै आएको बाढीले स्थानीय ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बगाएपछि चार महिनादेखि गाउँ अन्धकार बनेको हो । लघुजलविद्युत् उपभोग गरिरहेका लुलाङ, लमसुङ, खोरियालगायतका बस्तीका स्थानीयवासी रातमा टुकीको सहारा लिनुपर्ने बाध्यतामा रहेको स्थानीय युवा भक्तबहादुर सिङ्किजा पुनमगरले बताउनुभयो ।

उहाँका अनुसार बाढीले बगाएको लघुजलविद्युत् पुनःनिर्माणको काममा ढिलाइ भएको र केन्द्रीय प्रसारण लाइनको समेत पहुँच नभएकाले स्थानीयवासी थप समस्यामा परेका छन् । रातमा बत्ती बाल्ने समस्यासँगै स्थानीयस्तरमा रहेका घरेलु उद्योगसमेत समस्यामा परेका छन् । लघुजलविद्युत्को बिजुली प्रयोग गरी सञ्चालन भएका फर्निचर, कुटानीपिसानी मिल, बेकरी, मासु पसलसमेत प्रभावित बनेको स्थानीय प्रवीना विकले बताउनुभयो । “रातमा गाउँका बालबच्चाले पढ्न पाउँदैनन्, फ्रिजमा राखेर बिक्री गरिने सामानको बिक्री वितरण प्रभावित बनेको छ, जतिसक्दो चाँडो लघुजलविद्युत् पुनःनिर्माण गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

मरेनीको फेदीमा विद्युत्गृह रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाउँदा करिब रु ३० लाखको क्षति भएको दोस्रो लघुजलविद्युत् परियोजनाका सचिव लालबहादुर खड्काथोकीले जानकारी दिनुभयो । बाढीले परियोजनाको मुहानतर्फको कुलो र बाँधमा क्षति पु¥याएको छ ।

त्यसैगरी विद्यूतगृह पूर्णरूपमा बगाएको छ भने विद्युत्गृहका जेनेरेटर, एलसी बोर्ड, हिटरलगायतका उपकरणमा क्षति पुग्नुका साथै पाँच वटा बिजुलीका पोल बगाएको छ । यस परियोजनाबाट वडाभित्रका ३५४ घरधुरीले नियमितरूपमा विद्युत् सुविधा उपभोग गर्दै आएका थिए । विद्युत् सुविधा नहुँदा मोबाइल चार्ज गर्न, टेलिभिजनलगायतका सञ्चार सेवाको उपभोग गर्नसमेत समस्या भएको स्थानीयवासीको भनाइ छ । यसअघि २०७३ सालमा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको लघुजलविद्युत् परियोजना बगाएपछि क्षमतासमेत बढाएर मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरी २०७६ मा निर्माण गरिएको थियो ।

परियोजना पुनःनिर्माण गर्न २० लाख बजेट

बाढीले बगाएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पुनःनिर्माण गर्न रु २० लाख बजेट विनियोजन भएको छ । धौलागिरि गाउँपालिकाले रु १० लाख र प्रदेश निर्वाचन क्षेत्र ख का प्रदेशसभा सदस्य नरदेवी पुनको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु १० लाख बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । प्राविधिक सर्वेक्षणको काम गरेर बजेट विनियोजन गरिएको र पुनःनिर्माणको काम अघि बढाउने तयारी गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

दुई वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८५ लाख, गाउँपालिकाको रु ५० लाख र स्थानीयवासीको रु ३३ लाख बराबरको श्रमदानमा परियोजनाको निर्माण गरिएको थियो । केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको लुलाङमा मोटरबाटोको समेत पुग्न सकेको छैन । बजेटको व्यवस्थापन भइसकेको र पुनःनिर्माणको तयारी भएकाले आगामी दुई महिनाभित्रमा पुनः लघुजलविद्युत्बाट बिजुली उत्पादन हुने वडाध्यक्ष गमप्रसाद विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com