काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताउनुभएको छ । बिहीवार नेकपा(माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताउनु भएको हो । उहाँले पार्टीमा जतिसुकै ठुलो पदको भएपनि राम्रो काम नगर्ने मन्त्रीको सन्दर्भमा कडा स्टेप चाल्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले देशी, विदेशी शक्तिहरु माओवादी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको बताउनुभयो । माओवादीलाई चार टुक्रा बनाएर फुटाउँदापनि प्रचण्ड ज्यूँदै रहुन्जेल माओवादी पार्टी झन जागेर आउने देखेर खासगरी प्रचण्डलाई नै तारो बनाउन खोजेको उहाँको भनाई छ । अध्यक्ष प्रचण्डले केही समयपछि माओवादी पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो । माओवादी बलियो पार्टी भएन भने राष्ट्र दुर्घटनामा पर्ने खतरा रहेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्