काठमाडौं । सरकारले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको विहीवारको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाउने र सो ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधव कुमार नेपाल निकट मानिनुहुन्छ । यसैगरी आजकै बैठकले कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
वर्तमान प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते समाप्त हुँदैछ । साउन २५ गतेबाटै थापा विदामा बसेपछि साउन २६ गते देखिनै शर्माले कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी पाउनुभएको थियो । जेष्ठता क्रममा रहेका बलाधिकृत रथी शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार जिम्मेवारी दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्