कठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली नेकपा माओवादी केन्द्रमा फर्किएकी छन् । आज बुटवलमा नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलले पत्रकार सम्मेलन गर्दै प्रदेश सांसद वली माओवादीमै सक्रिय रहेको जानकारी दिएको छ । साउन १५ गतेदेखि उनी सार्वजनिक कार्यक्रममा नदेखिएको बताइएको छ । पत्रकार सम्मेलनमा वलीले गत साउन १६ देखि २० गतेसम्म आफू मुख्यमन्त्री कार्यालयबाट बाहिर निस्कन नपाएको बताउनुभयो ।
‘मुख्यमन्त्री शंकर पोखरेलसँग भेट भई छलफल सुरू भयो। फेरि उही दवाव सुरू भयो नेकपा एमालेमा आउनुप¥यो। पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् भनेर विभिन्न प्रलोभन देखाइयो। मैले निरन्तर इन्कार गरिरहेँ। साउन १६, १७, १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दवाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें,’ वलीले प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुई तीनवटा माइन्युटजस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो।’
२० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएपछि मुख्यमन्त्री निवासको ट्वाइलेटको चप्पल लगाएर माओवादी संसदीय कार्यालय पुगेको पनि वलीले बताउनुभयो । यसअघि सांसद वली नेकपा एमालेमा क्रियाशील रहेको विज्ञप्ति आएको थियो। तर उहाँले आफूलाई साउन १८ मा विज्ञप्ति पढ्न नदिई त्यसै जारी गरिएको दाबी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्