काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। उनी शितल निवास पुगेको आधा घन्टा हुन लाग्दा पनि सपथ ग्रहणको सुरसार छैन। साँझ ६ बजेका लागि सपथ ग्रहण गर्ने भनिए पनि ८ बजेसम्म सपथ सुरू नभएको हो।प्रधानमन्त्रीमा नियुक्त गरिएकोबारे राष्ट्रपतिको पत्र सच्याउनुपर्ने अडानमा देउवा छन्। राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको धारा उल्लेख गरेको छैन।पत्रमा ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/०३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको छ’ उल्लेख थियो।
यसमा संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गर्नुपर्ने अडानमा देउवा छन्।स्रोतका अनुसार देउवाले नियुक्ति पत्र सच्याउनका लागि पार्टीका नेताहरूमार्फत् सुरूमा राष्ट्रपतिका सञ्चार सल्लाहकार टीका ढकाललाई आग्रह गरेका थिए।
तर केही समय पर्खंदा पनि संविधानको धारा उल्लेख गरेको नियुक्ति पत्र नआएपछि देउवाले सरकारका मुख्यसचिव शंकरदास बैरागीमार्फत् धारा उल्लेख गर्दै नियुक्ति पत्र सच्याउन आग्रह गरेका थिए।नियुक्ति सच्याउने खबर आएको भन्दै देउवा साँढे ६ बजेतिर बूढानिलकण्ठस्थित निवासबाट शितल निवासका लागि निस्केका थिए। तर उनी शितल निवास पुग्दा पनि नयाँ नियुक्ति पत्र बनेको थिएन।
प्रतिक्रिया दिनुहोस्