असार २६ रौतहट । रौतहट प्रहरीले बलात्कारको आरोपमा नेपाली कांग्रेसका एक जना नेतालाई पक्राउ गरेको छ । स्थानीय एकजना २७ वर्षिया विवाहित महिलालाई करणी गरेको आरोपमा जिल्लाको देवाही गोनाही नगरपालिका ७ उचिडिह घरभएका ५० वर्षीय नागेश्वर कुश्वाहालाई प्रहरीले पक्राउ गरेको छ । महिलालाई करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवाही गोनाहीले कुश्वाहालाई आज पक्राउ गरेको हो । पक्राउ परेका कुश्वाहालाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।
करणी गरेको आरोपमा कुश्वाहामाथि जबर्जस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीले बताउनुभयो ।
कुश्वाहाले ३ दिनअघि पीडित महिलालाई केही घरायसी प्रयोगको सामान खरिद गर्न भनी आफ्नो मोटरसाइकलमा राखेर गरुडा बजार ल्याएका थिए । गरुडा बजार भन्दा केहि पर रहेको झाँझ नदिको किनारको कांसघारीमा लगेर उनले महिलालाई बलात्कार गरेको डिएसपी भण्डारीले बताउनुभयो ।
आफुलाई जबरजस्ती करणी गरेको भनी उक्त महिलाले दिएको मौखिक उजुरीको आधारमा उनलाई पक्राउ गरिएको र थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडा पठाएको ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका इन्स्पेक्टर राजन लम्सालले जानकारी दिनुभयो ।पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भैसकेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । पक्राउ परेका कुश्वाहा नेपाली कांग्रेसका स्थानीय नेता रहेको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्