काठमाडौं, १७ असार । महिलालाई सार्वजनिक ठाउँमा अभद्र व्यवहार गर्ने एक पुरूष पक्राउ परेका छन्। प्रहरीले रामेछाप सुनापति गाउँपालिका वडा नम्बर ५ रुपाकोट घर भई भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले भक्तपुरको भत्केकोपाटीबाट मंगलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँले कमलविनायक, आदर्श चोक लगायत सार्वजनिक स्थानका भित्री सडकमा हिँडिरहेका महिलाहरूलाई मोटरसाइकलमा आएर चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, हैरानी दिने, यौनांग देखाउने गरेको भन्ने उजुरी परेको बताउनुभयो । महानगरीय प्रहरी वृत्त जगातीमा पीडित महिलाहरूले गत वैशाख ११, १२, १५ गते, जेठ १० गते, असार १ र १० गते निवेदन दिएका थिए। पीडित महिलाहरूले ती व्यक्तिको हुलियासहित हैरानी दिएको भन्दै निवेदन दिएका थिए। सोही निवेदनको आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहार र सार्वजनिक स्थानमा यौनांग देखाउन नहुने कसुरमा मुद्दा दर्ता गरेको छ।
प्रतिक्रिया दिनुहोस्