ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाउँदै चीन : राष्ट्रपति सीलाई नेपालका शीर्ष नेताको शुभकामना सन्देश


एबीसी / संवाददाता

काठमाडौं, १७ असार । ‘कहिल्यै नबिर्स– तिमीले किन सुरु गरेका थियौ।’ यो भनाइ चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरिएको सहर सांघाईका बिलबोर्डहरुमा जताततै देखिन्छ। सबैतिर उत्सवको वातावरण छ। राता बस चढेर आगन्तुकहरु ऐतिहासिक स्थलमा आइरहेका छन्। हरेक रात गगनचुम्बी भवनहरुमा हँसिया–हथौडा चिन्ह चम्किन्छ। कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन गरिएको दुई तले भवनसँगै चीनकै विशाल संग्रहालय छ। जहाँ ठूलो भीड पार्टीको झण्डा हल्लाउँदै, शपथ दोहोर्‍याउँदै सेल्फी खिच्न तँछाडमछाड गरिरहेको छ।

यही माहौल देशका अन्य सहर र राजधानी बेइजिङमा पनि छ। चीनले जुलाई १ मा कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने गरेको छ। यो वर्ष त झनै विशेष छ, पार्टी स्थापनाको एक सय वर्ष पुगेको छ।

यही अवसरमा तियानमेन चोकमा हुने विशाल भेलालाई महासचिव सी चिनफिङले सम्बोधन गर्दैछन्।

एक सय वर्षअघि रुसी बोल्सेभिक क्रान्तिबाट प्रभावित भएर केही दर्जन युवाहरु सांघाईस्थित फ्रान्सको नियन्त्रणमा रहेको क्षेत्रमा कम्युनिस्ट पार्टी स्थापना गर्न भेला भए। तर, केही दिनपछि प्रहरीले हस्तक्षेप गर्‍यो र उनीहरु भागेर नजिकैको च्यासिङमा पुगे। त्यहीँको एउटा तालमा डुंगामा बसेर १३ जनाले छलफल टुंग्याए।

यसरी लुकिछिपी सुरु गरिएको पार्टी अहिले विश्वकै सबैभन्दा ठूलो र सबैभन्दा शक्तिशाली राजनीतिक आन्दोलन बनेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापना हुँदा कम्युनिस्ट पार्टी स्थापना हुँदा चीन गरिब र गृहयुद्धबाट आक्रान्त मुलुक थियो। त्यसबेला पार्टीका जम्मा सदस्य ५० जना थिए।

१९२७ मा च्याङ काइ सेकको आक्रमणमा परेर अत्यन्त कमजोर भएको कम्युनिस्ट पार्टीले लाल सेना गठन गर्‍यो। १९३४–३५ माको लङ मार्चसँगै माओ त्सेतुङ पार्टी नेताको रुपमा उदाए। खासगरी ग्रामीण जनसंख्याको समर्थन कम्युनिस्ट पार्टीलाई रह्यो। माओ १९४५ मा अध्यक्ष बने। कुशल रणनीतिकार माओकै नेतृत्वमा १९४९ कम्युनिस्ट पार्टी सत्तामा पुग्यो। सोही वर्षको अक्टोबर १ मा अध्यक्ष माओले जनगणतन्त्र चीन स्थापनाको घोषणा गरे। च्याङ काइ सेक भागेर ताइवान टापुमा पुगे।

सत्तामा पुगेपछि माओले औद्योगिक विकासमा जोड लगाए। तर, उनका कतिपय नीति नराम्ररी असफल भए। १९७६ मा माओको मृत्युलगत्तै चीनमा राजनीतिक र आर्थिक सुधार भए। त्यसपछिको पाँच दशकमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा तीव्र आर्थिक वृद्धि भइरहेको छ। जसका कारण करोडौँ मानिसहरु गरिबीबाट मुक्त भएका छन् र चीन विश्वको प्रमुख शक्तिराष्ट्रका रुपमा उदाएको छ।

स्थापनाको ३० वर्षपछि सत्ता कब्जा गरेको चिनियाँ कम्युनिस्ट पार्टीमा अहिले सदस्य ९ करोड बढी छन् भने यो पार्टीको नेतृत्वमा विश्वको २० प्रतिशत जनसंख्या छ। यही पार्टीको नेतृत्वमा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको छ र महाशक्ति अमेरिकाको आत्मविश्वासलाई पनि कमजोर बनाइरहेको छ।

एक सय वर्षको उमेरमा चिनियाँ कम्युनिस्ट पार्टी झनझन् शक्तिशाली हुँदै गएको देखिन्छ। २१ औँ शताब्दीमा सत्तामा रहेका सिमित कम्युनिस्ट पार्टीमध्ये एक हो चिनियाँ कम्युनिस्ट पार्टी। जुन सात दशकदेखि सत्तामा छ।

चीनमा केही हदसम्म कम्युनिस्ट पार्टी र सरकारको संरचना एकीकृत छ। कम्युनिस्ट पार्टीले व्यवस्थापिकामा दुई तिहाइ ओगटेको छ। केन्द्रीय, प्रान्तीय र स्थानीय सरकारको नेतृत्व कम्युनिस्ट पार्टीले गर्छ। तर चीनको एक मात्र पार्टी भने होइन कम्युनिस्ट पार्टी। नेसनल पिपुल्स कंग्रेसमा अन्य साना पार्टीहरुको पनि प्रतिनिधित्व छ। तर, उनीहरुले कम्युनिस्ट पार्टीको प्रभुत्वलाई स्वीकार्छन्।

जबजब चीन र विश्वमा नयाँ प्रवृत्ति देखा पर्छ, त्यसले चिनियाँ कम्युनिस्ट पार्टीको शासनलाई अन्त्य गर्ने भविष्यवाणी गरिन्छ। कहिले इन्टरनेटको आविष्कारले कम्युनिस्ट पार्टी पतन हुन्छ भनियो, कहिले उपभोक्तावाद र मध्यम वर्गको विस्तारले। भर्खरै पनि कोभिड–१९ चीनका लागि ‘चेर्नोबिल मोमेन्ट’ बन्ने दाबी गरिएको थियो।

सन् १९९१ मा ‘आफ्टर लेनिनिजमः द न्यु वर्ल्ड डिसअर्डर’ शीर्षकको लेखमा अमेरिकी राजनीतिशास्त्री केन जाविटले १९८९ देखि विश्वभर लेनिनवादी पार्टीहरु लोप हुने क्रम सुरु भएको दाबी गर्दै चिनियाँ कम्युनिस्ट पार्टी पनि केही समयभित्रै समाप्त हुने बताएका थिए।

सोभियत संघमा मिखाइल गोर्बाचोभ त्यस्ता पहिलो नेता थिए, जो १९१७ को क्रान्तिपछि जन्मेका थिए। उनी सत्तामा पुग्नेबित्तिकै सोभियत संघको पतन भएको थियो। चीनमा पनि १९४९ को क्रान्तिपछि जन्मेर सत्तामा पुग्ने पहिलो नेता हुन् सी चिनफिङ। त्यही आधारमा सी सत्तामा आउनेबित्तिकै चीन छिन्नभिन्न हुने भविष्यवाणी कतिपयले गरेका थिए।

जनवरी २०१३ मा न्युयोर्क टाइम्समा निकोलस क्रिस्टोफले लेखेका थिए, ‘उनकै ९सी० निगरानीमा तियानमेन चोकबाट माओको शव बाहिर निकालिनेछ।’ तर, सी सत्तामा आएको एक दशक पुग्न लाग्यो, माओको शव पूर्ववत् छ। बरु, थुप्रैले माओकालमा फर्किन खोजेको भन्दै सीको आलोचना गर्न थालेका छन्।

चीन र चिनियाँ कम्युनिस्ट पार्टीको भविष्यबारे गरिएका एकपछि अर्को भविष्यवाणीहरुलाई यो पार्टीले बेकार साबित गर्दै आएको छ।

बितेको सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो शक्ति भनेकै नयाँ वातावरणमा अनुकूलन हुने क्षमता हो। माओको उदय सुनिश्चित गर्ने लङ मार्चदेखि देङ स्यायोपिङको आर्थिक सुधारसम्म हेर्दा कम्युनिस्ट नेताहरुले विचारधारालाई पन्छाएर व्यवहारिक निर्णय गरेको देखिन्छ।

आर्थिक नीतिमा अपनाइएको यही व्यवहारिकताका कारण चीनको जीडीपी १९७० यता करिब ५० गुणा बढेको छ। यही दशकभित्रै यसले अमेरिकालाई उछिन्ने देखिएको छ।

२००८ को वित्तीय संकटपछि अमेरिकी आर्थिक मोडेल सबैभन्दा उत्तम भन्ने विचारमा परिवर्तन आउन थालेको थियो। अहिले चीनले पश्चिमा मोडलको विकल्प प्रस्तुत गरेको कतिपयको दाबी छ। महामारी नियन्त्रणमा सफल भएसँगै चीनको आत्मविश्वास झनै बढेको देखिन्छ।

‘महामारीपछि चिनियाँ जनता भविष्यप्रति विश्वस्त भएका छन्,’ कम्युनिस्ट पार्टीले सञ्चालन गरेको स्टडी टाइम्स नामक म्यागेजिनका पूर्वसम्पादक देङ युवेन भन्छन्, ‘तर, समयसँगै हरेक चिज बदलिन्छ। आगामी सय वर्षको यात्रा कठिन हुनेछ।’

वास्तवमै चीन र कम्युनिस्ट पार्टीसामु ठुल्ठूला चुनौती खडा छन्। जनसंख्या वृद्धिदर अत्यन्त न्यून छ। वातावरणीय विपत्ति बढ्दो छ। आर्थिक असमानतामा भएको वृद्धिले धेरैको जीवन कठिन बनाएको छ। घरजग्गाको मूल्य आकासिँदो छ, ऋण बढ्दो छ। राम्रो स्कुल, राम्रो रोजगारीका लागि युवाहरुले तीव्र प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

अमेरिकासँग तनाव बढ्दै गएको छ। चीनको उदयले आफ्नो नेतृत्वमा रहेको विश्व व्यवस्था खतरामा परेको अमेरिकी बुझाइ छ भने वासिङ्टनले शीतयुद्धकालीन मनस्थिति नत्यागेको बेइजिङको आरोप छ। अर्कोतिर, सी चिनफिङले आफ्नै कार्यकालभित्र ताइवानलाई चीनमा एकीकरण गर्ने सोच बनाएको कतिपयको अनुमान छ। त्यसो हुँदा युद्धको खतरा कायमै रहेको विश्लेषकहरु बताउँछन्।

त्यसबाहेक अहिलेसम्म सीले आफ्नो उत्तराधिकारी को हुने भन्ने संकेत गरेका छैनन्। उत्तराधिकारीका लागि हुने प्रतिस्पर्धाले पनि जटिलता निम्त्याउन सक्ने अनुमान थुप्रैले गरेका छन्।

सिपिसीको नेपाल साइनो

नेपालका कम्युनिस्ट पार्टीसँग मात्र होइन, नेपाली कांग्रेस र राजसंस्थासँग सुरुदेखि चिनियाँ कम्युनिस्ट पार्टीले सम्बन्ध राख्दै आएको छ । कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव केशरजंग रायमाझीदेखि मनमोहन अधिकारीसम्म, माधवकुमार नेपाल, केपी ओली, पुष्पकमल दाहाल मात्र होइन, चिनियाँ कम्युनिस्ट पार्टी मोहन वैद्य, नारायणमान बिजुक्छे र सिपी मैनालीहरूसँग पनि सम्पर्कमा छ । नेपालका सबै पार्टी र पक्षसँग चिनियाँ कम्युनिस्ट पार्टी तथा चीन सरकारले सम्बन्ध राख्दै आएका छन् ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन नेता गौरीभक्त प्रधान सन् १९५३ मा चिनियाँ गुरिल्ला तालिम लिन बेइजिङ गएका थिए । प्रधानको निधन भइसकेको छ । नेकपाका संस्थापक नेता पुष्पलाल, नरबहादुर कर्माचार्य, तत्कालीन महासचिव मनमोहन अधिकारी, माले महासचिव सिपी मैनाली, एमाले नेताहरू जीवराज आश्रित, माधवकुमार नेपाल, ईश्वर पोखरेल, अमृतकुमार बोहरा पञ्चायतकालीन समयमा चीन भ्रमण गरेर सिपिसी नेताहरूसँग छलफल गरेका थिए । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी, मालेका तत्कालीन महासचिव झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्डलगायतले पनि सिपिसीको निमन्त्रणामा चीन गएर राजनीतिक छलफल गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीभन्दा नेपालका कम्युनिस्ट र कांग्रेस कम्तीमा पनि २५ वर्ष कान्छा हुन् ।

राष्ट्रपति सीलाई शीर्ष नेताको सन्देश

सिपिसीको सयौँ स्थापना दिवसका अवसरमा नेपालका शीर्ष नेताहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई शुभकामना पठाएका छन् । प्रधानमन्त्री ओलीले पठाएको सन्देशमा एकता, ऊर्जा र सिर्जनशीलतालाई प्रयोग गरेर चिनियाँ कम्युनिस्ट पार्टीले मुलुकको रूपान्तरण गर्न सफल भएको उल्लेख गरेका छन् । ओलीले माक्र्सवाद–लेनिनवाद, माओ विचारधारा, देङ सिद्धान्तदेखि ‘नयाँ युगका निम्ति चिनियाँ विशेषताको समाजवादसहित सी जिनपिङ विचारधारा’ अँगालेर सिपिसीले आपूmलाई रूपान्तरण गर्दै लगेको उल्लेख गरेका छन् ।

उनले निकट छिमेकीका रूपमा नेपाल चीनको आर्थिक विकासको प्रवाहमा मिलेर अघि बढ्न चाहेको पनि बताएका छन् । एमाले चीनको असल मित्र भएको पनि ओलीको भनाइ छ । पूर्वप्रधानमन्त्री एवं एमाले नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि राष्ट्रपति सीलाई सन्देश पठाएका छन् र उनीहरूले बिआरआईलगायत चीनको पछिल्लो प्रयासको प्रशंसा गरेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति सीलाई पठाएको सन्देशमा सिपिसीको नेतृत्वमा चीनले आर्थिक र प्राविधिक क्षेत्रमा गरेको रूपान्तरण आउने पुस्ताका लागि पनि अनुकरणीय हुने बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सिपिसी र कांग्रेसबीच परम्परागत सम्बन्धको चर्चा गर्दै कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गरेका छन् । नेपालमा चीनविरोधी गतिविधि गर्न नदिइने उनको प्रतिबद्धता छ । कांग्रेस महामन्त्री शशांक कोइराला, नेता डा। नारायण खड्का, नेतृ सुजाता कोइरालाले पनि सन्देश पठाएका छन् । कांग्रेस नेताहरूले सिपिसी नेतृत्वमा भएको प्रभावशाली आर्थिक प्रगति तथा सामाजिक परिवर्तनलाई उदाहरणीय भन्दै प्रशंसा गरेका छन् । आर्थिक समृद्धि, गरिबी निवारण, विज्ञान तथा प्रविधिको अन्वेषण एवं विकासमा चिनियाँ प्रगतिको सबैले सराहना गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध, नयाँ जनवादी क्रान्ति, गाउँबाट सहर घेराउजस्ता द्वन्द्वकालीन नीति चिनियाँ कम्युनिस्ट पार्टीबाटै अनुशरण गरेको उल्लेख गरेका छन् । प्रचण्डले द्वन्द्वको शान्तिपूर्ण समाधान, अरूको आन्तरिक मामिलामा अहस्तक्षेप, वैश्विक समानता र न्यायको चिनियाँ नीतिलाई नेपालसहित विकासशील मुलुकहरूले प्रशंसा गरेको पनि उल्लेख गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, राप्रपा अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तथा केन्द्रीय सदस्य सोभित उप्रेती, नेकपा मालेका महासचिव सिपी मैनालीलगायतले पनि राष्ट्रपति सीलाई शुभकामना सन्देश पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com