काठमाडौं, १ असार । अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ ।
केही भौतिक संरचना बगाएको हुनसक्ने भनिएको छ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन विवरण आइनसकेको बताउनुभयो । उहाँका अनुसार बाढीले क्षति पुर्याएको ठाउँ पहाडी क्षेत्रमा पर्छ ।
‘केहिवेर अघिसम्म भागाभाग थियो, अहिले प्रहरी र जनप्रतिनिधिमार्फत विवरण संकलन गर्ने प्रयास भइरहेको छ’ पोखरेलले भन्नुभयो , ‘त्यहाँ रहेको केही ट्राउट फर्म बगाएको भनिएको छ, अन्य क्षति पनि भएको हुनसक्छ ।’यसैबीच मेलम्ची नगरपालिकाको चनौटे बजार पनि जलमग्न भएको छ । यद्यपि पूर्वतयारी गरिएका कारण हालसम्म कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । राति पहिरो गएकाले अहिलेसम्म त्यहाँ भएको क्षतिको आँकलन हुन सकेको छैन । पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे/नपुगेको पनि एकिन हुन नसकेको बताइएको छ ।
यस्तै सिन्धुपाल्चोककै इन्द्रावती नदीमा पानीको बहाब उच्च बढेर अहिले ठुलो बाढी आएको छ । नदीमा पानीको सतह बढ्दा काभ्रे र सिन्धुपाल्चोकको सीमानामा रहेको दोलालघाट बजारमा डुबानको जोखिम बढेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्