काठमाडौं, ३० जेठ । दोस्रो भेरियन्टयता कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको छिमेकी मुलुक भारतमा भन्दा ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका नयाँ सङ्क्रमित धेरै भेटिएका छन् ।
कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछि भारत विश्वमै सबैभन्दा बढी आक्रान्त बनेको मुलुक हो । कोरोनाका कारण उत्पन्न कठिन परिस्थितिको सामना गरिरहेको भारतमा पछिल्लो समय सङ्क्रमण घट्दो क्रममा रहेको छ ।
सङ्क्रमण उत्कर्षमा पुग्दा भारतमा एक दिनमा चार लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । एकै दिनमा सबैभन्दा बढी छ हजार जनासम्मको मृत्यु कोरोनाका कारण हुने गरेको थियो ।
तर अहिले भारतमा दैनिक सङ्क्रमण ८० हजारभन्दा तल झरेको छ । एक दिनमा चार हजारभन्दा कमको मृत्यु कोरोनाका कारण भइरहेको छ ।
ब्राजिलमा कोरोना महामारी उत्कर्षमा पुग्दा एक दिनमा एक लाख हाराहारीमा नयाँ बिरामी थपिन्थे । कोरोनाका कारण तीन हजार पाँच सय हाराहारीको मृत्यु हुने गरेको थियो ।
विगतको तुलनामा ब्राजिलमा पनि सङ्क्रमण नियन्त्रणउन्मुख छ । तर एकै दिनमा भेटिएका नयाँ बिरामीको सङ्ख्या भने भारतमा भन्दा ब्राजिलमा धेरै छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा भेटिएका नयाँ बिरामीको सङ्ख्या विश्वका अन्य मुलुकको भन्दा पनि धेरै हो ।
भारतमा एकै दिन ६५ हजार नौ सय ७३ जना नयाँ बिरामी थपिएका छन् । तर ब्राजिलमा ७५ हजार सात सय ७८ जना नयाँ बिरामी थपिए । भारतमा भन्दा ब्राजिलमा झन्डै १० हजार बढीमा सङ्क्रमण पुष्टि भएको हो ।
भारतमा जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ९४ लाख २४ हजार छ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ८० लाख १५ हजार ४४ जना कोरोनामुक्त बनिसकेका छन् । १० लाख ३८ हजार सात सय ९४ जनाको उपचार जारी छ ।
उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । सङ्क्रमित सङ्ख्याको हिसाबमा भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।
भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७१ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म भारतमा कोरोनाका कारण तीन लाख ७० हजार एक सय ६८ जनाको मृत्यु भइसकेको छ ।
ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ७३ लाख ७६ हजार नौ सय ९८ पुगेको छ । एक करोड ५७ लाख ६१ हजार एक सय ७७ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
११ लाख २९ हजार चार सय ६३ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा एकै दिन दुई हजार आठ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म चार लाख ८६ हजार तीन सय ५८ सङ्क्रमितको मृत्यु भइसकेको छ ।
सङ्क्रमित सङ्ख्याको हिसाबले ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।
प्रतिक्रिया दिनुहोस्