काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भईरहेको बताउनुभएको छ ।
तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भईरहेको बताउनुभयो । उहाँले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो । उहाँले उनीहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गर्नुभयो ।
उहाँले भन्नुभयो “तीनले खाएको सपथ झुटो हो ,तीनका सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहिन र अराजकता उत्रिन्छ । सम्मानीय राष्ट्रपति ज्यु कोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ । यो चिन्ताको विषय छ । ”
राजनीतिक दल र तीनका नेताहरु अनशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमार्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नएको घटना नेपालमा भएको बताउनुभयो । उहाँले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलिय अनुसासन, मर्यादा, प्रणाली संसदीय प्रणाली विरुद्ध भएको बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली राजनीतिमा स्याडीस प्रवृत्तिको विगविगी देखिएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “समाजलाई अमर्यादाले एकतावद्ध बनाउदैन । परपीडक प्रवृत्तिले अर्काको आशुँमा रमाउने खालका परपीडक स्याडीस । त्यस्तो स्याडीस प्रवृत्तिको विगविगी देखिन्छ । यो गम्भीर चिन्ता र चासोको विषय हो । परपीडक, असभ्य, छाडा र अराजकतत्व अहिले पनि आफुलाई विद्धान ठान्ने । तीनको जीन्दगी खेर गएको देखेर पनि दुख लाग्छ । उच्च जिम्मेवारी र मर्यादामा रहेका व्यक्तिको अपमान र मनपरी गाली गर्नु आफ्नो बहादुरी ठान्ने प्रवृत्ति यो समाजका लागि कति हानिकारक छ ? यो कुनै अरु जीवजन्तुले होइन । आफु पढेलेखेको जान्ने सुन्ने सभ्य छु भन्ने जान्ने,भात होइन पिजा खानेहरुबाट यस्ता कामहरु भईरहेको छ । ”
समाजमा बढ्दै गएको अशिष्ट र अराजक गतिविधि विरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको भन्दै त्यसकार्यमा लाग्न आग्रह गर्नुभयो ।विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संबैधानिक र कानुनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भएपनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको टिप्पणी गनुृभयो ।
उहाँले भन्नुभयो “कतिपयलाई यो कुरा चित्त बुझेको छैन । कतिपयमा पुरुषप्रधानताको सामान्ती सोचले जकडिएको छ । कतिपयमा आधुनिक युगको त छोडिदिनोस् । आधुनिक युग, अझै सभ्य, अझै सुसंस्कृत हुदै जानुपर्ने हो तर केही पछाडि परेका तत्वहरु छन्, असभ्य तत्वहरु, परपीडक तत्वहरु । मानविय भावनामा उठ्नै नसकेका । तीनीहरुले सामाजिक समानता, न्याय जस्ता कुराहरु बुझ्ने त कुरा छोड्दिनुनोस् , उनीहरु परपीडकको हिसाबमा अरुको अपमान गर्ने, छाडापन, अश्लिलता, अराजकता फैलाएर समाजलाई विखण्डीत गर्ने काम गर्छन् ।”
प्रधानमन्त्री ओलीले राजनीतिक स्वतन्त्रतासंग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताउनुभयो । सम्मृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उहाँले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक अधिकार, सामाजिक हक अधिकार, सम्मृद्धि र न्याय सहितको समानताको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।
विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गर्दै उहाँले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामािजक परिर्वतन संगै चेतना वृद्धिमा सहयोग पुराएको बताउनुभयो । त्यसबेलाको आन्दोलनकै असर स्वरुप अहिले महिलाको समान अधिकारको आकांक्षा प्रकट हुने अवस्थामा आएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले महिला हिंसा न्युनीकरणका लागि महिला स्वयंम् पनि सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले भन्नुभयो “यो वा त्यो प्रकारका कुनै पनि महिला हिंसा , महिला हिंसा गर्ने कुरामा महिला पनि त्यत्ति कम छैनन् । महिलाहरु पनि सजग हुनुपर्छ यस्तो कुरामा । महिलामा महिलाजन्य स्नेहपुर्ण, ममतापुर्ण स्वभाव हुनुपर्छ । आफैले आफैलाई सच्याउनुपर्छ । ठिक ठाउँमा उभ्याउनुपर्छ । ठिक विचार लिनुपर्छ । ठिक व्यवहार आचरण लिनुपर्छ । हामीले महिलादिदी बहिनीहरुलाई पुरुष बहकावमा नपर्न आग्रह गर्नुपर्छ । महिला हिंसाका विरुद्ध हामी सबै अगाडि बढ्नुपर्छ । महिला समस्या, विषय र आकांक्षाहरु महिलाका मात्रै नभई सामाजिक र मानवजातिका आकांक्षा भएकाले मानवजातिको उन्नति प्रगतिका निम्ति आवश्यक आकांक्षा हुन् । ”
उहाँले महिला हक अधिकार र समानताको आन्दोलन महिलाको मात्रै हो भनेर नठान्न र पुरुषहरुलाई पनि महिलाप्रति सहयोगी , महिला आन्दोलन , आकाक्षा र प्रयासप्रति सहकारात्मक र सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले पुरुषहरुले सहयोगी भूमिका निर्वाह नगरेसम्म महिला आन्दोलन सफल गराउन कठिन हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्