काठमाडौं, ३० बैशाख । काठमाडौंको ट्रमा सेन्टरमा अक्सिजन अभाव हुँदा एक सय ५ जना विरामीको ज्यान जोखिममा परेको छ । ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेल र कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले रातभरि विभिन्न ठाउँमा गएर अक्सिजनको जोहो गर्ने प्रयास गरे पनि सफल नभएको जानकारी दिनुभयो । ‘हामीले रातभरि विभिन्न ठाउँमा गएर एम्बुलेन्समार्फत अक्सिजन जोहो गर्ने प्रयास गर्यौँ तर कतै पनि पाइएन हामीकहाँ रहेका एक सय ५ जना बिरामी जोखिममा हुनहुन्छ’, कोरोना व्यवस्थापन समितिका सदस्य भुवन केसीले भन्नुभयो ।
ट्रमा सेन्टरले अक्सिजन ल्याउने शंकर अक्सिजन उद्योग बालाजुमा रातभरि कुर्दा पनि अक्सिजन पाउन नसकिएको उहाँको भनाइ छ । भर्ना भएका एक सय ५ जनालाई नै हाइ फ्लो अक्सिजन दिनुपर्नेमा अहिले न्यूनतम मात्रामा दिएर राखिएको र आठ बजेपछि ठप्पै हुने अवस्था रहेको उहाँले बताउनुभयो ।
ट्रमा सेन्टरमा दैनिक चार सय सिलिण्डर अक्सिजन चाहिनेमा सीसीएमसीले १ सय ५० वटाको कोटा तोकिदिएको र एक सय ५० वटा सिलिण्डर पाउन पनि मुस्किल रहेको केसीले बताउनुभयो । उहाँले फेसबुकमा लेख्नुभएको छ । , ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सीजनको सहायताले उपचाररत छन् । तर आज रात भरी अस्पतालका निर्देशक डा. सन्तोष पौड्यल सहित खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसारर्दा पनि बिहान ७ बजे सम्मको लागि मात्र अक्सीजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सीजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ ।’
प्रतिक्रिया दिनुहोस्